कुवेतमा आममाफी पाएकाहरुको उद्धार कुवेत सरकारले नै गर्ने, बुधबारदेखि चार्टर उडान सुरु
काठमाडौं । कुवेत सरकारले आममाफी दिएका नेपालीहरुलाई बुधबारदेखि उद्धार गर्ने भएको छ । नेपाल सरकारले विदेशमा अलपत्र परेकाहरुलाई उद्धार गर्न थालेसँगै विभिन्न आरोपमा कुवेतमा अवैधानिक रुपमा रहेका २९ सय बढी नेपालीलाई कुवेत सरकारले उद्धार गर्ने भएको हो।
कुवेत सरकारले नै सेल्टरमा बसेकाहरुलाई बुधबारदेखि उद्धार गर्न लागेको कुवेतका लागि नेपाली राजदूतावासकी सूचना अधिकारी जानकी ओझाले जानकारी दिइन्। उनका अनुसार कुवेत सरकारले नै चार्टर उडान गरेर कुवेतमा आममाफि पाएका नेपालीलाई नेपाल पठाउने हो।
उनले डिसी नेपाललाई भनिन्, ‘दिनमा कति उडान भन्ने कुरा त अहिले फिक्स भएको छैन। तर, कुवेत सरकाले भोली (बुधबार)देखि आममाफी पाएर सेल्टरमा बसेका नेपालीलाई फर्काउने भएको छ।’
‘दुई हजार ९ सय बढी नेपालीहरु हुनुहुन्छ।’ उनले भनिन्, ‘सबैलाई उद्धार गर्न कति चार्टर गर्नु पर्छ त्यो त थाहा छैन तर, सबैको उद्धार हुन्छ।’
यसअघि, कुवेतमा आममाफी पाएर बसिरहेका नेपालीले आफूहरु स्वदेश फर्कन नपाएको भन्दै नेपाल सरकारप्रति आक्रोश पोखेका थिए ।
उनीहरुले शनिबार साँझ कुवेतको सेल्टरबाटै नेपालका प्रधानमन्त्री केपी ओली, परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली र कुवेतस्थित नेपाली दूतावासविरुद्ध नारावाजी गरेका थिए ।
नेपाल सरकारले आममाफीको फाइदा उठाउन नसकेको भन्दै सेल्टरमै केपी ओली मुर्दाबाद, परराष्ट्र मन्त्री मुर्दाबाद, नेपाली राजदूतावास मुर्दाबाद भन्दै उनीहरुले चर्काे नाराबाजी गरेका थिए । तर, उनीहरुले कुवेत सरकारको भने तारिफ गर्दै कुवेत सरकार जिन्दावाद भनेर नारा लगाएका थिए ।