मिलन नेवार भक्कानिँदै भन्छिन्– डिभोर्सपछि पनि मेरो करियर सिध्याउन खोजिँदैछ (भिडियो)

काठमाडौं । कलाको सिमाना हुँदैन । कुनै भूगोलको परिबन्धमा पनि बाँधिन सक्दैन । न त कलाको जात र थर नै हुन्छ । कलाले जीवन बोल्छ, प्रकृतिको अनुपम उपहारलाई वर्णन गर्छ । जगतलाई सचेत गराउँछ । तर, समाजको ऐना बनेका सबै कलाकारको जीवन भने रसपूर्ण हुँदैन । उनीहरुले गायका, अभिनय गरेका, लेखेका जस्तै केही दुःखदायी कथा आफ्नै जीवनमा भोगेका हुन्छन् ।

भारत आसामकी गायिका मिलन नेवार गायनको कर्मभूमि बनाउन नेपाल छिरिन्, नेपालीको मन पनि जितिन् । नेपालीमूलका धेरै भारतीय नागरिकले आफ्नो कलाको कर्मस्थल नेपाललाई बनाएका छन् । यस्तै धेरै नेपाली भारतमा पुगेर कलाको क्षमता उजागर गरेका छन् । यहीको निरन्तरतामा गायिका मिलन पनि नेपाल आइन् ।

एकाएक गायकी क्षमता र सुमुधर स्वरकी धनी मिलनले नेपालीको मन जितिन्, सबैको मन मनमा बस्न सफल भइन् । यतिमात्रै होइन उनको कर्मभूमिमात्रैमा नेपाल समिति रहने, वैवाहिक सम्बन्ध पनि नेपालसँगै गाँसिन । नामजस्तै मिलनको नेपाली युवकसँग मिलन भयो अर्थात नेपाली युवक मेन्सन अमात्यसँग लगनगाँठो कसिन् ।

जुन भूमिले माया दियो, जहाँ आफ्नो स्वरलाई मन पराइयो, उहीँ वैवाहिक सम्बन्ध कायम गर्दा मिलनमा अपार खुसी थियो । विवाहपछि महिलाले पतिको थर लेखाउने चलन नेपाल पनि छ, तर बाध्यात्मक छैन । मिलनलाई पनि पतिको थर ‘अमात्य’ लेखाउनु पर्ने भयो । तर, आफ्नो जन्मजातको थर ‘नेवार’लाई माथ गरेर अमात्य लेखाउन मन लागेन । आफ्नो कुरा परिवारमा राखिन् । परिवारमा आफूले चाहेजस्तै सबै कुरा हुँदैन ।

उनलाई अमात्य लखाउनुपर्ने दबाब सृजना भयो । परिवारको खुसी आफ्नै खुसी सम्झिन् । परिवार खुसी हुन्छ भने आफू खुसी भइन्छ भन्ने सोचिन् । र राजी भइन्, मिलन नेवारबाट मिलन अमात्य बन्न । ‘मलाई मिलन नेवारबाट अमात्य बनाउन मन थिएन, तर बनाउन बाध्य भएँ’, ती दिन सम्झँदै मिलनले बताइन् ।

मिलन नेवार अब मिलन अमात्यले परिचित हुँदै गइन् । नेवार कम अमात्यबाट बढि चिनिन थालिन् मिलन । उनको गाएकी क्षमताले स्रोता र दर्शक मन्त्रमुग्ध भए । जताततै उनकै माग हुन थाल्यो । कामको संख्या बढ्दै गयो, समय पनि बढी खर्चनुपर्ने भयो । परिवारलाई भन्दा आफ्नो कर्मलाई बढी समय दिनुपर्ने भयो । कहिले बिहानै, कहिले राति, कहीँ न कहीँ गइरहनु पर्ने भयो ।

कन्सर्टदेखि स्टुडियोसम्मको यात्रामा कुनै निश्चित समय भएन । यो उनको कर्मको सुखद् फल थियो । यसमा उनी निकै खुसी थिइन् । तर, परिवार भने बेखुसी हुन थालेको उनी अहिले सम्झिन्छन् । परिवारमा खटपट सुरु हुन थाल्यो ।

दर्शक र स्रोताको माग पूरा गर्न कन्सर्टदेखि स्टुडियोसम्म धाउनु पर्ने मिलनलाई समयको बेप्रवाह गरेको आरोप लागेको उनी बताउँछिन् । परिवारबाट पाउन थालेको व्यवहारले मिलनलाई दुखाउन थाल्यो । परिवारको खुसीका लागि आफ्नो थर परिवर्तन गरेकी मिलनलाई अब त्यही थर बोझ हुने स्थितिमा आइपुग्न थालेपछि बेचैन भयो । आफ्नो करियर र घरपरिवारमध्ये एक रोज्नुपर्ने अवस्था आएको अहिले सम्झिँदा मिलनको आँखाबाट बलिन्द्र आँशुका धारा बग्छन् ।

उनी भन्छिन्, मेन्सनसँगको सम्बन्धलाई कायम राख्न निकै प्रयास र लचक भएँ । तर, केही लागेन ।’ मिलन र मेन्सनले आफ्नो सात वर्षे वैवाहिक सम्बन्धलाई २०७४ असोजमा अन्त्य गराएका थिए । वैवाहिक सम्बन्धबाट कायम गरेको नाता अर्थात परिवारबाट बिछोडिँदा मन भक्कानिएको उनले भनिन् । तर, आफ्नो बाल्यकालदेखिकै सपना र इच्छा गायन थियो । उनी गायन छाड्न सक्दिनथिइँन् । त्यसैले परिवार छाडिन्, गायन पेशालाई उर्वर बनाउने संकल्पलाई आत्मसाथ गरिन् ।

सोचेकी थिइँन्, डिभोर्सपछि अमात्य परिवारबाट गायन पेशमा आफूमाथि अवरोध हुनेछैन । तर, त्यो गलत रहेछ । उनी भन्छिन्, ‘मेरो जीवनलाई मात्रै होइन करियरलाई नै सिध्याउन खोजेका रहेछन् ।’ चोटमाथि चोट, घाउमाथि नूनचुकले कुनै बेला जीवनप्रति मोह कम हुँदै गएको उनले सम्झिन् । तर, जन्मदिने बुवाआमाको साथ र मायाले आफूलाई बाँचेर गायनको कर्ममा रमाउन हिम्मत र साहस आएको मिलन बताउँछिन् ।

‘जसलाई मनमा सजाएँ, हिरो बनाएँ, ऊ नै पछि आफ्नो विरोध होलान् भन्ने कल्पना गरेको थिइँन,’ भक्कानिँदै मिलन भन्छिन्, ‘तर, अहिले साहस र हिम्मतका साथ आफ्नो करियरमा अघि बढेको छु, जति नै छेकबार र तगारो हाले पनि पन्छाएर अघि बढिरहने तागतको विकास गरेको छु ।’ बाँकि भिडियोमा हेर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *