नारायणी नदीमा ‘मिनी पानीजहाज’ चलाउने तयारी

चितवन – चितवनको नारायणी नदीमा सञ्चालन हुने मिनी पानीजहाज (क्रुज सिप) छिटै सञ्चालन हुने भएको छ ।

सरकारले सार्वजनिक कार्यक्रम गर्न अनुमति दिएको एक महिनामै सञ्चालनमा ल्याउने तयारी भएको हो । मिनी पानीजहाज सञ्चालनको आन्तरिक तयारी सकिएको क्रुज निर्माण गरिरहेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रा.लि.का प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले कोरोना कहरका कारण नदीमा सञ्चालनमा ल्याउन नसकेको बताउनुभयो ।
यसअघि यसको परीक्षण भइसकेको छ ।

जहाज चलाउने क्याप्टेनसहित मुख्य कर्मचारीहरु समेत छनौट गरिसकेको कँडेलले बताउनुभयो । भरतपुर महानगरपालिका वडा नं. १६ ज्ञानेश्वर सामुदायिक वनको काप्रेघाटमा बनेर बसेको ‘क्रुज सिप’ (मिनी पानीजहाज)को नारायणी नदीमा ‘टेष्ट ड्राइभ’ समेत सफल रुपमा सम्पन्न भइसकेको थियो ।

क्रुज बनाउन तयार गरिएको पोर्टबाट झण्डै एक किलोमिटरसम्म ‘टेष्ट ड्राइभ’ भएसँगै विशिष्ट व्यक्ति पुग्दा बेलाबेला यसलाई चलाउने पनि गरिएको छ ।

दुरुस्तै पानीजहाज

दुई तलामा बसेर नदीको सयर गर्न सकिने क्रुज हेर्दा दुरुस्तै पानीजहाज जस्तो देखिन्छ । भित्रै रेष्टुरेन्ट र सांगीतिक कार्यक्रमको स्टेज, सुटिङ गर्ने ठाउँ, बैठक बस्न सकिने हल, सेल्फी खिच्ने स्थान, चालक दल बस्ने ककपिट छ । बनोट र आकारले नदीमा चल्ने पानीजहाज जस्तै देखिन्छ ।

नेपालको इतिहासमै पहिलोपटक यति ठूलो क्रुज सिप बनेको बताउँदै कँडेलले नेपालको जल यातायात र पर्यटनमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो । नेपालको जल यातायातमा दुई सय जना क्षमताको यो नै पहिलो भएको कम्पनीका प्रबन्ध निर्देशक कँडेलले बताउनुभयो । नेपालका नदीको क्षमता अनुसारको सबैभन्दा ठूलो जल यातायातको साधन पनि यही भएको उहाँको दाबी छ ।

नर्वेजियन प्रविधि प्रयोग गरेर निर्माण गरिएको क्रुज सिप चलाउनका लागि भारत केरलाबाट क्याप्टेन ल्याइएको छ । एक सय फिट लम्बाइ र २५ फिट चौडाइको मिनी पानीजहाजको बनाउन झण्डै १५ करोड रुपैयाँ खर्च भएको छ । दुई वटा इञ्जिन रहेको क्रुजमा दुवै इञ्जिन एकैपटक नचल्ने गरी बनाइएको छ । कुनै कारणले एक इञ्जिनमा समस्या आएमा मात्र अर्को चलाइने निर्माण कम्पनीले जनाएको छ ।
सेल्फी खिच्न बैठक बस्न र सुटिङ गर्न मिल्ने
क्रुजको पहिलो तलामा ९० र दोस्रो तलामा १०० जना मानिस अट्ने क्षमता छ । पहिलो तलाको अगाडिपट्टि सेल्फी खिच्ने, चलचित्र वा म्युजिक भिडियो सुटिङ गर्ने खुला ठाउँ छ । यहाँ १५ जना उभिन मिल्छ ।

यहाँ बैठक पनि गर्न सकिन्छ । दोस्रो तलाको एक छेउमा विशिष्ट व्यक्तिका १० सिट बनाइएको छ ।क्रुजको तल्लो भागमा कुनै कारणले प्वाल परेर वा क्षति भएर पानी पसेमा सबै भागमा पानी नजाने गरी डिजाइन गरिएको छ ।

महिला र पुरुषका लागि अलग-अलग शौचालय, काउन्टर र बार बनाइएको छ । मिनी पानीजहाजभित्र सांस्कृतिक कार्यक्रम गर्दा आवश्यक ड्रेस चेन्जिङ रुम बनाइएको छ । एसी जडान गरिएको छ । क्रुजको भित्री भागमा राखिने कुर्सी आइसकेका कँडेलले बताउनुभयो ।

क्रुज सिपमा १५ जना चालक दलका सदस्य र प्राविधिक हुनेछन् । क्रुज राख्न च्यानल काटेर १५ फिट गहिरो पार्किङ स्टेशन बनाइएको छ । क्रुजबाट चढ्न र झर्न यहीँ नै आउनुपर्ने व्यवस्था मिलाइएको छ । दैनिक तीन सिफ्ट,३५ किलोमिटर प्रतिघण्टा

Leave a Reply

Your email address will not be published. Required fields are marked *