चीनले यसरी पाइपमार्फत सिधै नेपालमा पेट्रोल पठाउने, इन्धनमा भारतको एकाधिकार तोडिदैँ !

नेपाल आयल निगमले चीनबाट पेट्रोलियम पदार्थ ल्याउने पाँच वर्षअघिको समझदारीलाई कार्यान्वयन गर्नेगरी अध्ययन सुरु गर्ने भएको छ । आयल निगमको सञ्चालक समितिले हालै स्वीकृत गरेको चालू आव ०७७/७८ को नीति तथा कार्यक्रमले औपचारिक रूपमा यो विषयलाई समेटेकाले प्रक्रिया अघि बढ्न लागेको हो । 

सञ्चालक समितिबाट स्वीकृत ४३ बुँदे नीति तथा कार्यक्रमको बुँदा नम्बर २७ मा ‘मित्रराष्ट्र चीनबाट पेट्रोलियम पदार्थ खरिद गर्ने सम्भावनाको अध्ययन गरी फ्रेमवर्क सम्झौता तयारी गरिनेछ’ भन्ने उल्लेख छ । त्यस्तै बुँदा नम्बर २८ मा ‘चीनको केरुङदेखि नेपालको रसुवागढी हुँदै नुवाकोटसम्म पेट्रोलियम पाइपलाइन विस्तारको सम्भाव्यता अध्ययन गरिनेछ’ भन्ने उल्लेख छ ।

आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायले सञ्चालक समितिबाट स्वीकृत नीति–कार्यक्रमअनुसार आगामी योजना तयार गरी काम अघि बढाउने बताए । ‘हामीले यही नीति–कार्यक्रमअनुसार निगमको आगामी कामहरू निर्दिष्ट गरी अगाडि बढ्नेछौँ,’ उनले भने । यद्यपि, अहिले नै चीनबाट तेल ल्याउने विषयमा कुने प्रक्रिया अघि बढाइएको छैन ।

निगमले शतप्रतिशत पेट्रोलियम पदार्थ भारतको सरकारी कम्पनी इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट ल्याउँदै आएको छ । नेपालमा वार्षिक रूपमा डेढ खर्ब रुपैयाँभन्दा बढीको इन्धन आइओसीबाट आउने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *