सधैंजसो वर्क होलिडे भिसामा आउने कामदारहरु पनि आउन पाएका छैनन् ।

कोरोना भाईरसका कारण यतिबेला अष्ट्रेलियामा विदेशी नागरिकहरुको प्रवेश निषेध छ । सधैंजसो वर्क होलिडे भिसामा आउने कामदारहरु पनि आउन पाएका छैनन् । अन्तर्राष्ट्रिय विद्यार्थी र तिनमा आश्रितहरु पनि अष्ट्रेलिया आउन नपाएको धेरै भइसक्यो । यसको प्रत्यक्ष असर यहाँका विभिन्न क्षेत्रमा पर्न थालेका छ । र, सबैभन्दा बढी मार कृषि क्षेत्रमा काम गर्ने कामदारमा देखिएको छ । हालै अर्नस्ट एण्ड यंग ईन्ष्टिच्युटले गरेको अनुसन्धानले फर्ममा कामदारको अभाव देखिएका जनाएको छ । यस्ता सिजनल कामदारको चरम अभाव अझ आगामी मार्च महिनामा देखिने पनि उक्त रिपोर्टमा उल्लेख गरिएको छ । रिपोर्टमा क्रेन्स, वाईड बे, साउथईष्ट साउथ अष्ट्रेलिया, सेपार्टन, नर्थवेष्ट भिक्टोरिया, कफ्स हार्बर र ग्राफ्टन, न्यूसाउथवेल्सको मर्रे क्षेत्रमा कामदारको अभाव बढी देखिएको छ ।

अष्ट्रेलियाको राष्ट्रिय किसान महासंघका कार्यकारी अधिकृत टोनी महर भन्छन्, “सरकारले जहिले पनि हामीलाई डाटा देखाउ डाटा देखाउ भन्छ, यो रिपोर्ट मै छ डाटा । अब हामीले माग गरेजस्तै कृषिमै मात्र काम गर्नेगरी भएपनि कामदारहरुलाई अष्ट्रेलिया आउन दिइनुपर्छ ।”

उनका अनुसार यतिबेला धेरै कृषकहरु अर्को बाली लगाउने कि नलगाउने भन्ने दोधारमै छन् । यदि अवस्था यस्तै रहने हो भने आपूर्ति अभावको स्थिति आउनसक्छ ।

सरकारले अघिल्लो महिला भानुआटुबाट १ सय ६३ जना कामदारलाई सिजनल वर्करका रुपमा नर्दन टेरेटोरीमा काम गर्नेगरी स्वीकृति प्रदान गरेको थियो । प्रधानमन्त्री स्कट मोरिसनले पनि मंगलबार क्यानबेरामा कुरा गर्दै सिजनल र प्रशान्तक्षेत्रीय कामदार कार्यक्रम ल्याउने बताएका थिए । तर, यो कहिले आउँछ निश्चित छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *