झिमरुक गाउँपालिकाले आफै संचालन गर्यो कृषि फार्म : कृषि तालिम केन्द्र बनाउने लक्ष्य
प्रज्वल पहाडी प्यूठान झिमरुक गाउँपालिका प्यूठानले व्यावसायिक कृषि फार्म संचालन गरेको छ । गाउँपालिकाको प्रशासनिक भवन भ्यागुतेमा लिजमा जग्गा व्यवस्थापन गरि फार्म संचालन गरेको हो ।कृषि तालिम केन्द्रको रुपमा विकास गर्ने योजना सहित फार्म संचालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष तिलक जि.सी.ले बताउनुभयो ।“फार्ममा कृषि खेती सम्वन्धी प्राविधिक कुराहरुको प्रयोगात्म शिकाई हुन्छ” अध्यक्ष जि.सी.ले भन्नुभयो, “यसले कृषकलाई व्यवहारीक रुपमा कृषि क्षेत्रमा लाग्न उत्पेरणा समेत दिने छ ।” कृषि तालिम तथा अवलोकन भ्रमण जस्ता क्षेत्रमा धेरै खर्च भए पनि उपलव्धी नदेखिएकाले गाउँपालिकाकाले नयाँ अभ्यास थालेको हो । “कृषकहरुलाई सैद्धान्तीक ज्ञानले मात्रै नहुने देखेर व्यवहारीक ज्ञान समेत दिने उद्येश्यले फार्मलाई कृषि तालिम केन्द्रको रुपमा अगाडी ल्याउन खोजेका हौं”, उहाँले भन्नुभयो ।
गाउँपालिका अन्तरगत कृषि शाखामा रहेका कृषि प्राविधिकहरुले फार्ममा रेखदेख गर्दै आएका छन् । गाउँका अन्य अगुवा कृषकहरु जम्मा गरि उनिहरुलाई प्रयोगात्मक अभ्यास गराउँदै खेती गरिएको छ । आवश्यकता अनुसार दैनिक ज्यालादारी मजदुर समेत प्रयोग गर्ने गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद भुषालले बताउनुभयो । “हिउदे सिजनवाट फार्म संचालनमा ल्याएका हौं”, अधिकृत भुषालले भन्नुभयो, यो आर्थिक वर्षमा फार्म संचालनका लागि गाउँपालिकाले ५ लाख वजेट विनियोजना गरेको छ ।” अहिले सम्म फार्म तयार गर्नका लागि झण्डै २ लाख खर्च भएको उहाँले जानकारी दिनुभयो । फार्ममा च्याउ, काक्रा, भान्टा, फर्सी वोडी लगाएत विभिन्न बेमौसमि तरकारी उत्पादन भएका छन् ।
फार्मबाट अहिले सम्म ५३ हजार रुपियाँ बरावरको च्याउ तथा तरकारी विक्रि गरेर आम्दानी गरेको छ । “झण्डै ४२ हजारको च्याउ विक्रि गरेका थियौं” अधिकृत भुषालले भन्नुभयो, “काक्रा, भान्टा फर्सी लगाएत तरकारीले फल दिन शूरु गरेका छन् ।” हाईटेक प्रविधिहरु मार्फत कृषि खेतीलाई अगाडी वढाउने गाउँपालिकाको योजना छ । “वर्षादका कारण फार्ममा आवश्यक कतिपय कामहरु गर्न वाँकी छ” अधिकृत भुषालले भन्नुभयो, “आवश्यक आधुनिक प्रविधिहरुलाई क्रमश बढाउँदै लाने योजनामा छौं ।” वर्षादका कारण लगाएको टमाटर नष्ट भए पनि अन्य तरकारीहरु राम्रो भएका छन् ।वार्षिक २५ हजारका दरले पाँच वर्षका लागि झण्डै ३ रोपनी जग्गा व्यवसायिक फार्मका लागि गाउँपालिकाले लिजमा लिएको छ ।