ज्लाटनलाई चोट

एजेन्सी मिलान । स्विडिस तथा इटालियन क्लब एसी मिलानका भेट्रान फरवार्ड ज्लाटन इब्राहिमोभिचले अभ्यास दौरान गम्भीर चोट बोकेका छन् । सोमबार प्रशिक्षण दौरान ज्लाटनले एचिलेस चोट बोकेका हुन् । रिपोर्टअनुसार ज्लाटनको खुट्टाको चोट गम्भीर रहेको छ । स्पेनिस पत्रिका मार्काका अनुसार म्यानचेस्टर युनाइटेडका पूर्वफरवार्ड इब्राको एचिलेस टन्डन फुटेको र उनी लामो समय मैदानबाहिर हुन सक्ने दाबी गरेको छ । मार्कालाई उल्लेख गर्दै स्पोर्ट्स मिडियाका पधकार पिट्रो बाल्जा प्रोटाले ट्वीटरमा ‘ज्लाटन इब्राहिमोभिचका लागि नराम्रो चोट, मेडिकल टेस्ट अपेक्षित छ तर यो लामो विश्राम हुन सक्छ ।’ क्लबले १० दिनको परीक्षणपछि धेरै कुरा बाहिर आउने बताएका छन् । ‘हामी समस्याको मुख्य कुरा जान्नेछौं ।’ क्लबको विज्ञप्तिमा उल्लेख छ ।

इब्राहिमोभिच गत जनवरीमा यसै समरसम्मका लागि अमेरिकी मेजर लिग सकर क्लब एलए ग्यालेक्सीबाट मिलान पुगेका थिए । जनवरीयता १० खेलमा ४ गोल गरिसकेका छन् । सिरी ‘ए’ सुचारु हुने अवस्था पाएपछि क्लबहरूले दुई साता अघिदेखि प्रशिक्षण थाल्दा ज्लाटनले पनि इटाली फर्कदै क्वारेन्टिन अवधि पूरा गरेर टोलीको प्रशिक्षणमा जोडिएका थिए । १९ मेबाट समूहगत रूपमा प्रशिक्षण गर्न अनुमति पाइसकेका छन् ।

इटाली सरकारले बिहीबार सिरी ‘ए’ फुटबल सुरु हुने सम्भावित मिति घोषणा गर्नेछ । गएको मार्चदेखि स्थगित सिरी ‘ए’ १३ जुनबाट सुचारु हुन सक्ने आँकलन गरिएको छ । इटालियन फुटबल महासंघले २० अगस्टभित्र यो सिजनको सबै खेल सक्ने योजना राखेको छ । नयाँ सिजन सेप्टेम्बर १ बाट सुरु गर्ने तालिका तय गरेको छ । युभेन्ट्स ६३ अंक जोडेर सिरी ‘ए’ को शीर्षस्थानमा छ । ६२ अंक जोडेर लाजियोले युभेन्टसलाई पछ्याइरहेको छ । एसी मिलान ३६ अंक जोडेर सातांै स्थानमा छ । सिरी ‘ए’मा १२ राउन्डको खेलहरू बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *