आजदेखि मध्यम र लामो दूरीको बस सञ्चालन, आन्तरिक हवाई उडान भने नहुने !

काठमाडौं । कोरोना भाइरसको महामारीले ६ महिनादेखि थन्किएका सार्वजनिक यातायात आजदेखि सञ्चालनमा आएका छन् । सरकारले चैत्र ११ गतेदेखि सुरू गरेको लकडाउन साउन ६ मा खुला गरे पनि सरकारले अन्तरजिल्ला सार्वजनिक सवारी साधन खुला गरिएको थिएन ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले सबै खाले सार्वजनिक यातायात आजदेखि खुला गर्ने निर्णय गरेसँगै लामो, मध्यम तथा छोटो दूरीका सबै खाले सार्वजनिक गाडी सञ्चालनमा आएका हुन् । बुधवार एक विज्ञप्ति जारी गर्दै कार्यदलले सबै चालक, सहचालक र यात्रुलाई सवारीसाधनमा आवश्यक स्वास्थ्य सुरक्षा अपनाउन अनुरोध गरेको छ ।

चालक, सहचालकले मास्क, पञ्जा, सेनेटाइजर र सहचालकले फेस भाइजरको प्रयोग अनिवार्य रुपमा गर्न भनिएको छ । यात्रुले यात्रा अवधिभर मास्क लगाउन र सवारीसाधनमा चढ्दा, ओर्लदा र खाजा खाँदा भीड नगर्न भनिएको छ ।

सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले असोज १ देखि लामो रुटको बस सञ्चालनको निर्णय गरेको थियो । यी सवारीसाधनले सिट क्षमताको आधा यात्रु राखेर साविक भाडादरमा ५० प्रतिशत बढी भाडा लिएर यात्रा गराउनुपर्ने भनको छ ।

यसैबिच, सरकारले आन्तरिक हवाई उडान असोज १ गतेबाट खुल्ला गर्ने भने पनि वायुसेवा कम्पनीहरूले ५० प्रतिशत यात्रु बोकेर उडान नगर्ने भएका छन् । आन्तरिक उडानको लागि जहाजका सिटमा पुरै यात्रु बोकेर उडान गर्न नपाउदा वायुसेवा कम्पनीलाई फाइदाको सट्टा घाटा हुने भन्दै वायुसेवा सञ्चालकहरूले उडान नगर्ने जनाएका छन् ।

उडान गर्नको लागि यात्रुको टिकट बुकिङ खुला पनि नगर्ने र अन्य सार्वजनिक यातायातको साधनलाई सहुलियत दिदा आन्तरिक वायुसेवा कम्पनीको लागि तत्काल राहत घोषणा गरिनुपर्ने वायुसेवा सञ्चालक कम्पनीको माग छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *