टिकटक भिडियो बनाउँदा पाँच युवतीलाई जनही २ वर्ष जेल र साढे २२ लाख जरिवाना

काठमाडौं। इजिप्टको एक अदालतले पाँच जना युवतीहरुलाई २ वर्षको जेल सजाय र ३ लाख इजिप्सियन पाउण्ड (२२ लाख ५० हजार नेपाली रुपैयाँ) बराबरको जरिवानाको सजाय सुनाएको छ । उनीहरुलाई भिडियो शेयरिङ एक टिक टकमा ‘अभद्र भिडियो’ शेयर गरेको आरोपमा यस्तो सजाय सुनाइएको हो । ५ युवतीमध्ये सबैको नाम भने सार्वजनिक गरिएको छैन ।

अदालतले सामाजिक संजाल अभियन्ताहरुविरुद्ध अधिकारीहरुले गरिरहेको कडाइका क्रममा अदालतबाट जेल सजाय सुनाइएको भने यो पहिलो पटक हो । अभियन्ताहरुले भने यी पक्राउ गरिएकाहरुको रिहाइको माग गर्दै सामाजिक संजालमा अभियान नै चलाइरहेका छन् । बीबीसीको समाचार अनुसार इजिप्टको सरकारी वेबसाइट अल अहरामले लेखेको छ ‘कायरोको आर्थिक अदालतले मवादा अल अदाम र हनीन होसम र अन्य तीन जनालाई २ वर्ष जेल र ३ लाख इजिप्सियन पाउण्ड जरिवानाको सजाय सुनाएको छ ।

‘उनीहरुमाथि इजिप्टको सामाजिक मूल्य र मान्यताको उल्लंघन गरेको र अभद्र तस्वीर र भिडियो पोस्ट गरेर सामाजिक मर्यादाको उल्लंघन गरेको आरोप छ’ अल अहरामले अगाडि लेखेको छ । नाम नखुलाइएका अन्य तीन युवतीमाथि पनि पुरुषहरुसँग अशोभनीय भिडियो कलमा सहभागी भएको आरोप छ । यो महिला सामाजिक संजाल अभियन्ताविरुद्ध अदालतले सजाय सुनाएको पहिलो घटना हो । यसअघि खासगरी टिक टकमा चर्चित महिलाहरुलाई लक्षित गर्दै ठूलो संख्यामा गिरफ्तारी भने भएको थियो ।

होसम गएको अप्रिलमा पक्राउ परेकी थिइन् । माचार एजेन्सी एएफपीका अनुसार उनले आफ्ना १.३ मिलियन फलोअरहरुलाई ३ मिनेटको भिडियोमार्फत युवतीहरुले आफूसँग काम गरेर पैसा कमाउन सक्ने बताएकी थिइन् । अदाम मे महिनामा पक्राउ परेकी थिइन् । उनले टिक टक र इन्स्टाग्राममा व्यङ्ग्यात्मक भिडियो पोस्ट गरेपछि उनलाई पक्राउ गरिएको थियो । उनका २ मिलियन फलोअर छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *