साउनको पहिलो सोमबार दर्शनार्थीका लागि पशुपति नखुल्ने

साउनको पहिलो सोमबार भोलि दर्शनार्थीका लागि पशुपति मन्दिर नखुल्ने भएको छ ।

कोरोना भाइसको जोखिमका कारण गएको चैत ११ गतेदेखि नै दर्शनार्थीका लागि बन्द गरिएको पशुपतिनाथको मन्दिर भोलि पनि नखुल्ने भएको हो ।

हिन्दुहरूको धार्मिक स्थल पशुपतिनाथ मन्दिर विगतमा साउन महिनामा दर्शनार्थीहरुको धेरै भिड हुने गरेको भए पनि कोरोनाको कारण यस पटक सरकारको निर्देशन विपरीत मन्दिर खोल्न नसकिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

सरकारले भिडभाड हुने सार्वजनिक ठाउँ, मन्दिर, विद्यालयलगायतका ठाउँ नखोल्ने निर्णय गरेकाले साउन महिनाको पहिलो सोमबार पनि दर्शनार्थीका लागि मन्दिर नखुल्ने पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डाक्टर प्रदीप ढकालले जानकारी दिए । उनले कोरोनाको जोखिम कायमै रहेकाले घर घरमा नै बसेर शिवको आराधना गर्न आग्रह गरेका छन् ।

पशुपति मन्दिर मात्रै नभएर अन्य ठाउँका मन्दिरमा पनि नजान पशुपति क्षेत्र विकास कोषको सुझाव छ । महामारीको विषम परिस्थिति भएकाले यस्तो बेला घरमा नै पूजा पाठ गर्न कोषले आग्रह गरेको हो ।

यसअघिका वर्षमा साउने सोमबारमा पशुपतिलगायत देशभरका शिव मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्ने गर्दथ्यो । यस्तै पशुपति मन्दिरमा हुने नियमित नित्य पूजा भने भोलि पनि हुनेछ । लकडाउनको बेला दर्शनार्थीका लागि पशुपति मन्दिर नखुलाए पनि मन्दिरमा हुँदै आएको नित्य पूजा भइरहेकै छ ।

यस्तै बेलुका हुने आरती पनि नियमित गर्न विधिपूर्वक एक जनाले गर्दै आएका छन् ।

विशेष गरी साउन महिनामा भगवान् शिवको दर्शन गर्नका लागि देश तथा विदेशबाट समेत लाखौँको सङ्ख्यामा दर्शनार्थीहरु पशुपति आउने गर्दछन् । यस पटक भने कोरोना सङ्क्रमण नियन्त्रणका लागि जारी रहेको लकडाउनका कारण दर्शनार्थीहरुका लागि पशुपतिनाथ मन्दिर खुला गर्न नसकिने पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडाले बताउँछन् ।

लकडाउन खुलेमा दर्शनार्थीहरुका लागि दोस्रो सोमबारदेखि सेनिटाइजर प्रयोग गर्ने, मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने जस्ता नियम पालना गरी दर्शन गर्ने व्यवस्था मिलाउने गरी तयारी भइरहेको छ ।

साउन महिनामा पशुपतिनाथ मन्दिर खुल्ने वा नखुल्ने भन्ने हिन्दु धर्माबलम्बीहरुको चासो र सरोकारको विषय समेत छ भने साउन महिनामा नियमपूर्वक व्रत बसी भगवान् शिवको पूजाआरधना गर्नाले सम्पूर्ण सुख प्राप्त हुने, रोगव्याधी तथा दैवी विपत्ति नआउने जनविश्वास रहेको कोषका कार्यकारी निर्देशक डा. खतिवडाले जानकारी दिए ।

लकडाउन खुलेमा साउन महिनाको दोस्रो सोमवारदेखि दर्शनार्थीहरुलाई पशुपतिनाथको दर्शन गराउने व्यवस्था मिलाउने गरी तयारी गरिरहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *