तनहुँमा पहिरोको वितण्डा : एक जनाको मृत्यु, पाँच बेपत्ता, एक जना गम्भिर घाईते

राजन उपाध्याय/ विनोद ढुंगाना
दुलेगौँडा, असार १५

आईतबार राती परेको अविरल बर्षाका कारण आएको पहिरोमा परेर तनहुँमा एक जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता भएका छन् । म्याग्दे गाउँपालिकामा एक जनाको मृत्यु भएको हो भने ऋषिङ गाउँपालिकामा पाँच जना वेपत्तासंगै एक जना गम्भिर घाईते भएका हुन् ।

जिल्लाको म्याग्दे गाउँपालिका–६ बेलतौडाँडामा घरमाथीबाट आएको पहिरोले पुरिएर १५ बर्षिय बालिकाको ज्यान गएको छ । परिवारका सात जना सदस्यले भने भागेर ज्यान जोगाउन सफल भएका छन् । वडाध्यक्ष बसन थापाका अनुसार  सन्सारी विककी छोरी  लक्ष्मी विकको ज्यान गएको हो । ‘पहिरो आएको थाहा पाएपछि परिवारका अन्य सदस्यले भागेर ज्यान बचाउन सफल भएछन्’, वडाध्यक्ष थापाले भने, ‘भाग्न नपाउदै पुरिएर एक जनाको ज्यान गयो ।’

यस्तै, म्याग्दे खोलाले तुरतुरेमा अशोक भण्डारीको घर बगाएको छ । जनजागृती मोटरमार्गको मोटरेवल पुल पनि भासिएको छ । त्यस्तै म्याग्दे–७ घुम्तीमा म्याग्दे  र स्याङदे खोलाले त्यहाँका घरहरु डुबानमा परेका छन् भने एउटा मोटरेवल पुल जोखिममा छ  ।  कजवे बगाएको स्थानियले बताएका छन् । 

ऋषिङ गाउँपालिका–८ पल्ट्याङस्थित भैसीकिलीमा पहिरोले घर बगाउदा एकै परिवारका पाँच जना बेपत्ता भएका छन् । पहिरोमा परी घाईते एक जनाको उद्धार गरि उपचारको लागि भिमादतर्फ ल्याइदै छ । राती १ बजे घरमाथि रहेको सडकबाट खसेको पहिरोले आनबहादुर थापाको घर बगाएको हो । पहिरोमा परि उनका दुई छोरा, दुई बुहारी र एक नातिनी बेपत्ता भएको ऋषिङ प्रहरी चौकीका प्रहरी नायव निरिक्षक क्षेत्रबहादुर थापाले जानकारी दिए । उनका अनुसार आन बहादुरका अन्दाजी ३० वर्षका छोरा भेष बहादुर, ३० वर्षिय बुहारी नानुमाया र पाँच वर्षकी नातिनी अमिसासंगै अर्का छोरा २२ बर्षका महादेव र बुहारी मनिसा पनि बेपत्ता भएका छन् । घाइते आन बहादुरकी श्रीमती ५८ बर्षिया ज्योतीलाई उचपारको लागि भिमादतर्फ ल्याईदै छ । उनको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । 

बेपत्ताको खोजीको लागि जेसीभी मगाइएको प्रहरी नायव निरिक्षक थापाले जानकारी दिए । ‘घर कहाँनिर थियो भन्ने पनि एकनि गर्न सकिन अवस्था छैन्’, उनले भने, ‘जनप्रतिनिधीसंगै स्थानीयको सहयोगमा खोजी भईरहेको छ ।’ठाउँ ठाउँमा खसेको पहिरोले सडक अवरुद्ध हुदा उद्धारमा समेत समस्या भएको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए । श्रृंग पथको एक दर्जन बढि स्थानमा पहिरो खसेको उनले बताए । भिमादबाट मालेवगरतर्फ जाने बुडुवा खोलामाथिको मोटरेबल पुल समेत जोखिममा रहेको छ । 

आईतबार रातीको अविरल बर्षाले  तनहुँको ठाउँठाउँमा क्षति पु¥याएको छ । विहीबारदेखी परेको अविरल बर्षाले तनहुँमा जोखिम बढेको छ । यहाँका खहरे, खोला, नदीको वहाब ह्वात्तै बढेको छ । छेउछाउका वस्ती जोखिममा परेका छन् । ठाउँठाउँमा पहिरो गएको छ । प्राय ग्रामिण सडक अबरुद्ध भएका छन् । 
शुक्लागण्डकी नगरपालिका ११ जरेबरमा बर खोलाले काठे पुल बगाएको छ ।  भिमाद नगरपालिका ८ जोड्ने उक्त पुल बगाएपछि खोला वारपार गर्न समस्या हुने भएको छ । खोलाले जरेबरको बस्तीतर्फ नदी कटान रोक्न हालिएको जाली ग्याबिन समेत बगाउँदा १० घर जोखिममा परेको स्थानियले जानकारी दिएका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *