दुखत खबर,जाजरकोटको पहिरोमा पाँचको शव फेला, दश बेपत्ता

जाजरकोट, २६ असार – बारेकोट गाउँपालिकाका विभिन्न स्थानमा गएको पहिरोमा परी पाँच जनाको मृत्यु भएको छ । नौ जना जना बेपत्ता भएका छन् भने दुई जनाको उद्धार गरिएको छ । बारेकोटमा आठ घर पहिरोले पुरेको छ । बारेकोट–४ जिरी सार्कीटोलमा गएराति पहिरो गएर दुई घर बगाउँदा बेपत्ता भएका १२ मध्ये पाँच जनाको शव फेला परेको छ ।

पहिरोमा परी ५२ वर्षीय गोपाल सार्की र उहाँका ११ वर्षका छोरा अर्जुन सार्कीको शव फेला परेको प्रहरीले जनाएको छ । त्यस्तै कलु सार्की (दिदी) को घरमा पाहुना आएका कुशे गाउँपालिका–९ चौताराका २० वर्षीय डिल्ली सार्की र १८ वर्षका वीरेन्द्र सार्कीको शव फेला परेको जिल्ला प्रहरी प्रमुख एंव प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिनुभयो ।

अर्को एक जना शवको पहिचान खुल्न नसकेको उहाँले बताउनुभयो । पहिरोमा बेपत्ता अन्य सात जनाको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो । पहिरोले बारेकोट–४ सार्कीगाँउका गोपाल सार्की र कलु सार्कीको घर बगाउँदा भएको घटनामा पाहुन आएका दुई जनासहित सात जना अझै बेपत्ता छन् । त्यस्तै बारेकोट–६ धुमाका २० वर्षीय शान्तबहादुर चलाउने र १० वर्षीय प्रचण्ड चलाउने बाढीमा बेपत्ता भएका छन् ।

रामचन्द्र चलाउने र विज्ञान बोहरालाई स्थानीयवासीले बाढीबाट उद्धार गरेका छन् । रामचन्द्र गम्भीर घाइते भएको गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिंहले बताउनुभयो त्यस्तै जुनिचाँदे गाउँपालिका–११ चैतेका डिल्लीबहादुर चदारा वडा नं ३ स्थित सानाखोलामा लडेर खोलामा पर्दा बेपता भएका छन् ।

प्रहरी नायब उपरीक्षक श्रेष्ठले घटनास्थलमा टेलिफोन नलाग्ने र प्रहरी सञ्चार सेटले समेत काम नगर्दा सूचना सङ्कलनमा समस्या भएको उहाँले बताउनुभयो । त्यस्तै बारेकोट–४ का लालबहादुर नेपाली पहिरोमा परी गम्भीर घाइते भएका छन् । पहिरोले घर भत्काएको र भाग्ने क्रममा उनी घाइते भएका हुन् । उहाँको उद्धारका लागि हेलिकप्टर पठाउन खोजेको भए पनि खराब मौसमका कारण हेलिकप्टर उड्न सकेको छैन ।

गएराति परेको अविरल वर्षात्ले बारेकोटका विभिन्न बस्ती जोखिममा परेका छन् । पानी परिरहेकाले उद्धारमा कठिनाइ भएको बारेकोट गाउँपालिका–४ की अध्यक्ष सिर्जना बस्नेतले बताउनुभयो । घटनास्थल सदरमुकाम खलङ्गादेखि दुई दिन पैदल दूरीमा २५ कोस उत्तरपूर्वमा पर्छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *