कास्की-म्याग्दी बाढी पहिरो: कास्कीमा मृत्यु हुनेको संख्या ७ पुग्यो, म्याग्दीमा ३२ जना बेपत्ता

काठमाडौँ । कास्कीका विभिन्न स्थानमा आएको पहिरोमा परी ज्यान गुमाउनेको संख्या ७ पुगेको छ ।

कास्कीको पोखरा महानगरपालिका–१८ सराङ्कोटमा ५, पोखरा २५ मा एक र २६ मा एक जनाको ज्यान गएको र ११ जना मानिस घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले डिसी नेपाललाई बताए ।

कास्कीको सराङ्कोटमा खसेको पहिरोमा परी गोठादीका टंकबहादुर थापाको घर पहिरोमा परेको छ । थापासहित उनकी श्रीमती सोममाया थापा, दुई नाती र छिमेकी इशीका थापाको ज्यान गएको श्रेष्ठले बताए ।

यस्तै पोखरा २६ मा दुर्गाबहादुर सुनारको घर भत्किएर ज्यान गएको छ भने हेमजामा रामचन्द्र अधिकारीको घर पहिरोमा पर्दा उनकी आमा हिमकला अधिकारीको ज्यान गएको छ।

म्याग्दीमा दुई जनाको शव फेला, ३२ जना बेपत्ता

म्याग्दीका विभिन्न स्थानमा आएको पहिरोमा परी ३२ जना मानिस बेपत्ता भएका छन् । जसमध्ये दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी प्रमूख डिएसपी किरणजङ् कुँवरले डिसी नेपाललाई बताए ।

उनले भने, जिल्लामा खोलाले बगाएको अवस्थामा एक जनाको शव फेला परेको छ । विभिन्न ठाउँमो पहिरोमा परी ३२ जना बेपत्ता भएका छन् । प्रहरीले बिहानैदेखि विभिन्न स्थानको पहिरो पन्छाउने काम गरिरहेको छ ।

म्याग्दीको धौलागिरि, मालिका र मंगला गाउँपालिमा खसेको पहिरोमा परी ३२ जना हराइरहेको प्रहरीले जनाएको छ । “म्याग्दीको धौलागिरीको ताकममा २ जनाको ज्यान गएको भन्ने खबर आएको छ। यसको पुुष्टी हुँदै छ।” कुँवरले भने ।

बागलुङबाट बिपत् ब्यवस्थापन, सशत्र, सेना, प्रहरीको टोली जाँदै

म्याग्दीमा धेरै स्थानमा पहिरो खसेपछि थप उद्धारका लागि बागलुङबाट बिपत् ब्यवस्थापन टोली, प्रहरी, सशत्र प्रहरी र नेपाली सेनाको टोली थप गरिएको छ । सडकको ठाउँठाउँमा पहिरो खसेर बाटो अवरुद्ध हुँदा उद्दारमा जानसमेत अबरोध भएको छ । अहिले केही सुरक्षार्की म्याग्दीका घटनास्थलमा पुगेको र केही बाटोमा जानेक्रममा रहेको कुँवरले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *