कोरोनालागेर मृत्यु भएका २९ वर्षीय सुनिलको नेपाली सेनाले गर्यो अन्तिम सलामी दिएर बिदाइ

काठमाडौं – क्वारेन्टिनमा निधन भएका बागलुङको निसीखोला–२ का २९ वर्षीय सुनिल विश्वकर्माको शव ढोरपाटन नगरपालिका–४ स्थित लुकुरवन खोला नजिकै आइतबार राति व्यवस्थापन गरिएको छ । विश्वकर्माको आइतबार बिहान ढोरपाटन नगरपालिका–४ खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टिनमा निधन भएको थियो ।

यही असार २ गते भारतबाट फर्किएका उनको असार १२ गते स्वाब सङ्कलन गरिएको भए पनि निधन भएपछि मात्र कोरोना सङ्क्रमण भएको पुष्टि भएको हो । सुनिलको शवलाई नेपाली सेनाको अर्जुन बाड गणअन्तर्गत शत्रुमर्दन गुल्मका तीन जना सेनाले आइतबार राति अन्तिम सलामी दिएर बिदाइ गरेको जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख प्रशासकीय अधिकृत धीरेन्द्रराज पन्तले जानकारी दिनुभयो । खोला नजिक बगरमा डोजरले खाल्डो खनेर विश्वकर्माको शव गाडिएको छ ।

पोखरा, गोरखालगायतका विभिन्न स्थानमा कोरोना सङ्क्रमितको शव व्यवस्थापनमा आएको अवरोधलाई देखेर आफूहरु तयारी अवस्थामा रहेको भए पनि ढोरपाटनमा कुनै अवरोध नभएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बताउनुभएको छ ।

मृतक विश्वकर्मा चार वर्ष पहिलेबाट क्षयरोगको बिरामी थिए । उनको फोक्सोको देब्रे भागले भारतमा हुँदा नै काम गर्न छोडेको बताइएको छ । असार २ गते भारतबाट फर्किएका विश्वकर्मा ढोरपाटन नगरपालिकास्थित ससुरालीमा होम क्वारेन्टिनमा बसेका थिए । श्रीमती र छोराछोरीसहित असार १२ गते स्वाब सङ्कलनको लागि ढोरपाटन–४ खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टिनमा पुगेका विश्वकर्माको परिवारलाई सोही दिनबाट क्वारेन्टिनमा राखिएको वडाध्यक्ष तिलक पुनले बताउनुभयो ।

श्रीमती, दुई छोरी र एक छोराको समेत स्वाब सङ्कलन गरी पठाइएकोमा मृतक विश्वकर्मा र एक छोरीको मात्र रिपोर्ट आउन बाँकी थियो । एक छोरी, छोरा र श्रीमतीको कोरोना रिपोर्ट यसअघि नै नेगेटिभ आएको भए पनि विश्वकर्माको स्वास्थ्य अवस्था नाजुक भएको कारणले सपरिवार क्वारेन्टिनको एउटै कोठामा बसिरहेको वडासचिव देवेन्द्र बस्यालले जानकारी दिनुभयो । मृतक विश्वकर्माका परिवारका सदस्यको पुनः स्वाब सङ्कलन गरी परीक्षण गरिने बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा मिलन मल्लले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *