बाबु-छोरा पाइलट, आमा एयरहोस्टेज बाबु-आमा-छोराको उडान त्यो उडान !

कोठाका भित्ताभरि दर्जन तस्बिर छन् । नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सका सुरुवाती दिनदेखिकै जहाजका तस्बिरहरूले उनको कार्यकक्षको शोभा बढाएको छ ।

तस्बिरमा भएकामध्ये कतिपय जहाज अहिले ‘फेज आउट’ भइसकेका छन्, कति चाहिँ त्रिभुवन विमानस्थलमा ग्राउन्डेड अवस्थामा ‘घाम तापिरहेका’ छन् । उनको बाल्यकाल तिनै जहाज उडाउने पाइलट बन्ने सपनाका साथ बित्यो । जबकी अभिभावक चाहन्थे उनी डक्टर बनुन् ।

अभिभावकको इच्छा विपरित पाइलटका रूपमा उनले जहाज उडाउन थालेको पनि १२ वर्ष बितिसकेको छ । उनी अहिले नेपाल वायुसेवा निगमको पाइलट हुन् । यति मात्र होइन अपरेसन म्यानेजरका रूपमा निगमको नेतृत्व तहको जिम्मेवारी समेत सम्हाल्दै छन् । उनी हुन् दीपु जुहार्चन ।

बाबु-आमा-छोराको उडान

सुन्धारास्थित नेपाल वायुसेवा निगमको चौथो तल्लामा रहेको उनको कार्यालयका भित्तामा सजिएका जहाजका फोटोबारे उनले भने, ‘ यो कोठामा पुरै हिस्ट्री छ’ ।

जहाजको ‘हिस्ट्री’ उनको कार्यकक्षका तस्बिरमा छँदैछ । तर निगमसँगै उनको परिवारको ‘हिस्ट्री’ पनि जोडिन्छ । दीपुको परिवार निगमको सुरुआती दिनसँगै यो क्षेत्रमा जोडिन पुगेका हुन् ।

बा र आमापछि अब दीपुले निगममा काम गर्न थालेको पनि जोड्ने हो भने आधा शताब्दी कट्छ । ६१ वर्ष पुगेको निगममा जुहार्चन परिवारको संलग्नता कूल मिलाएर ५६ वर्ष पुगिसक्यो ।

दीपुका बुबा क्याप्टेन यामप्रसाद जुहार्चनको २४ बर्ष, आमा सुमिली जुहार्चनको २० वर्ष र दीपुको १२ वर्ष गरी जुहार्चन परिवारले कूल ५६ वर्ष निगममार्फत् ‘राष्ट्रसेवा’ गरेको छ । तीनमध्ये बाबु यामप्रसाद र दीपु निगमका जहाज उडाउने क्याप्टेन हुन् भने आमा सुमिली एयर होस्टेस् ।

मुस्ताङ सदरमुकाम जोमसोमबाट २ घण्टाको पैदल दुरीमा पर्छ एउटा सुन्दर बस्ती मार्फा । त्यहाँबाट राजधानी पुगेर पढ्ने पहिलो व्यक्ति थिए, यामप्रसाद जुहार्चन । सिद्धार्थ वनस्थलीबाट एसएलसी गरेपछि यमप्रसाद पाइलट तालिमका लागि अमेरिका गए ।

पाइलट बन्ने बाटो रोज्नु पछाडिको कारणबारे दीपु अनभिज्ञ छन् । अहिले हवाई र सडकमार्गले जोडिए पनि त्यतिबेला पोखराबाट म्याग्दीको बेनी हुँदै ३–४ दिन हिँडेर मार्फा पुग्नुपथ्र्ये। त्यसैले पनि हवाइ यात्राबाट यो दुरी छोट्याउने बुवाको रहर होला जस्तो लाग्छ दीपुलाई ।

आमा सुमिली भने धरानकी हुन् । लामो समयदेखि हस्पिटालिटी क्षेत्रमा कार्यरत उनी पनि पछि एयर होस्टेस भएर नेपाल वायुसेवा निगममा प्रवेश गरिन् । अर्थात यामप्रसाद निगममा पाइलट भए, सुमिली एयर होस्टेस भइन् । कहिले यामप्रसादले उडाएको जहाजमा सुमिली एयर होस्टेस हुन्थिन्, कहिले सुमिलीको ड्युटी परेको जहाज उडाउने पालो यामप्रसादको पर्थ्याे । मन न हो, एउटै संस्था (निगम) र उडानमा हुने लगातारको भेटले दुवैबीच प्रेम अङ्कुरायो । उनीहरू विवाह बन्धनमा बाँधिए ।

यामप्रसाद पाइलट हुँदा दीपु पोखरास्थित गण्डकी उच्च माध्यमिक विद्यालयमा पढ्थे । आमाबाबु दुबैको व्यस्तताका कारण उनलाई होस्टेल राखिएको थियो । स्कुले जीवनमा भए पनि रेडियो र टेलिभिजनमा उनको मोह धेरै नै थियो ।

कहिलेकाहीँ विमान दुर्घटनाका समाचार आउँथे र दीपु डराउँथे । आफ्ना बाबु–आमा त्यो जहाजमा रहेनछन् भन्ने जानकारी पाएपछि उनी ढुक्क बन्थे।

बाहिरबाट हेर्नेलाई लाग्ला, बाबु–आमा दुवै उड्ययन क्षेत्रमा भएपछि बालबच्चा बेलाबेला घुम्न पाइरहन्छन् । तर यामप्रसाद र सुमिली यति व्यस्त थिए कि, दीपुले परिवारसँग खासै घुम्न पाएनन् ।

यद्यपी, गर्मी र दशैँको विदामा भने उनी घुम्न जान्थे । काठमाडौँ–पोखराको उडान परेको र बिदा पनि भएका बेला यामप्रसाद दीपुलाई काठमाडौँ लिएर आउँथे । गर्मीको बिदाभरि दीपु काठमाडौँमा रहन्थे । अनि, दशैँ बिदाका बेला बुबाले गर्ने पोखरा–जोमसोम उडानमार्फत् मार्फा फर्कन्थे ।

कहिलेकाहीँ आमा सुमिली पनि ‘क्याबिन क्रु’ का रुपमा त्यही उडानमा हुन्थिन् । त्यही उडानमा ‘क्रु मेम्बर’ का रुपमा रहेका यामप्रसाद र सुमिलीका साथीहरुले दीपुलाई काखमा राख्थे । आमासँगै काम गरेका निगमका पुराना कर्मचारी भेट हुँदा बाल्यकालको ती यात्रा सम्झाइरहन्छन् ।

पढाईमा अब्बल भएर होला, बा–आमा उनलाई डाक्टर बनाउन चाहन्थे । त्यसबेला आर्थिक स्तर राम्रो भएकाहरू मात्र पाइलट पढ्छन् भन्ने सोच हावी थियो । पढेलेखेका व्यक्तिको छनोटमा पाइलट तालिम खासै पर्दैनथ्यो ।

उनी चाहिँ पाइलट नै बन्नुपर्छ भन्ने इच्छा पालेर बसेका थिए । त्यो पनि बाबुजस्तै अमेरिकामै तालिम लिएर पाइलट बन्छु भन्ने निश्चय उनले गरिसकेका थिए । जब उनले सन् २००५ को जुलाईमा प्लस टु को पढाइ सके, त्यसपछि उनी पाइलट कोर्स पुरा गर्न अमेरिका जाने योजना बनाउन थाले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *