नेपाली ‘साथी’ मिलेर मलेसियामा धीरेन्द्रका खुट्टा का’टिदिए, सापटी दिएको पैसा फिर्ता माग्दा यस्तो भयो

गजेन्द्र बोहोरा -मलेसियामा पैसा कमाउँदै गरेको २४ वर्षे ठिटौले सपनाका के कुरा!

डिसेम्बर १३ को झिसमिसे बिहान होस आउँदा उनी सडकमा र’गताम्य थिए। उठ्न खोज्दा खुट्टा अडिएनन्, फेरि सडकमै ढले। जसोतसो साथीहरूलाई फोन गरेर बोलाए। त्यसपछि उनलाई अस्पताल लगियो।

शनिबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनी ह्विल चेयरमा गुड्दै थिए, पट्टी बाँधिएको आधा खुट्टा हेरेर टोलाउँदै।

आफ्नै पैसा फिर्ता माग्दा ‘अपहरण’

धनुषा जिल्ला नगराइन नगरपालिकाका २४ वर्षे धीरेन्द्र ठाकुर।

अढाई वर्षअघि कतारबाट फर्किएर उनी मलेसिया पुगेका थिए। काम राम्रै थियो। कमाइ पनि ठिकै थियो। त्यो फ्याक्ट्रीमा पुराना मेसिन गरेर टल्काउँदै गर्दा उनका आँखामा सपनाहरू पनि टल्किरहेका हुन्थे।

त्यो फ्याक्ट्रीमा धेरै नेपाली कामदार थिए, कोही उनीसँगै काम गर्थे। कोही त्यही कम्पनीको अर्काे कुनै विभागमा। जे होस्, परदेशमा नेपालीको आत्मियता उस्तै थियो, जस्तो नेपालमा आफ्ना साथीभाइसँग।

तीमध्ये वीरगन्जका दुई साथी थिए उनका। परदेशमा जोसुकै होस् नेपाली-नेपाली सुख–दुःखका साथी नै हुन्। उनीहरू पनि ठाकुरका ‘दोस्त’ नै थिए।

परदेशमा सुख, दुःख बाँड्ने ती साथीले एक दिन ठाकुरसँग ४ हजार मलेसियन रिङ्गिट (करिब १ लाख १७ हजार नेपाली रुपैयाँ) सापटी मागे। केही समयपछि दिने गरी।

परदेशमा काम गर्ने नेपालीका लागि एउटा चलनै छ, पालैपालो घरमा पैसा पठाउने। केही साथीहरू मिल्ने एक महिनाको कमाइ एकमुष्ठ एउटाको घरमा पठाउने अनि अर्काे महिना अर्काको। यो चक्रले घरमा एकमुष्ठ पैसा पठाउन नेपाली कामदारलाई सजिलो पनि हुँदै आएको छ।

तर, ठाकुरलाई के थाहा एक दिन त्यही चक्रले आफ्नो खुट्टा नै गुम्नसक्छ!

उनले सापटीको पैसा मागिरहेका थिए, ती केटाहरू टार्दै गए। ‘डिसेम्बर १२ मा मलाई उनीहरूले कल गरेर पैसा फिर्ता लिन आउनू भनेर बोलाए,’ ठाकुर सम्झिन्छन्, ‘अनि म उनीहरूले बोलाएको ठाउँमा गएँ।’

तर, दृश्य अर्कै थियो। त्यहाँ उनका ती वीरगन्जीया दोस्तमात्रै थिएनन्। केही तमिल केटाहरू पनि थिए।
आफ्नो पैसा फिर्ता लिन गएका ठाकुर आफ्नै साथीहरूको त्यो जालमा परे।

उनीहरूले ‘भाडा’ का गुन्डाबोलाएका थिए, तमिल केटाहरूलाई। भारतको तमिलनाडुबाट मलेसियामा धेरै त्यस्ता ‘ग्याङस्टर’ पुगेका छन्, जसले नेपालीलाई अत्यधिक लु’ट्छन्।

नेपाली अपहरण गर्नु, च’क्कु प्र’हार गर्नु, लुट्नु अनिमार्नसम्म पछि नपर्ने उनीहरू भाडामा पनि त्यस्तो अ’पराधको काम गर्छन्।

‘उनीहरूले पैसा लिन बोलाएर मलाई उल्टै अपहरणै गरे,’ ठाकुर भन्छन्, ‘मलाई जालमा पार्न बोलाएका रहेछन्। म त पैसा पाउने आसामा गएको थिएँ।’

ठाकुरको गोजामा अरू २ हजारजति मलेसियन रिङ्गिट थियो। त्यो पनि उनीहरूले खोसे।

अझ उल्टै धम्की दिए, ‘अरू पैसा मगाऊ नत्र, यहीँ मारिदिन्छौं।’ आफ्नो गुमेको पैसा फिर्ता पाउने आशमा त्यहाँ पुगेका ठाकुर अँध्यारो कोठाभित्र थुनिए।

त्यो घर निकै अग्लो थियो। उनीहरूले ठाकुरलाई चौथो तलाको एउटा कोठामा थुनिदिएका थिए।

‘आफ्नो पैसा पाउने आशमा त्यहाँ पुगेको मलाई उनीहरूले थुनिदिए। भएको पैसा पनि लुटे अनि अरू पनि पैसा मगा, नत्र मारिदिन्छौं भनेर धम्की पनि दिए,’ ठाकुर भन्छन्, ‘अब कोसँग पैसा माग्नु, उल्टै उनीहरूसँग फिर्ता ल्याउनुपर्ने थियो। भएको पैसा पनि लगिदिए।’

ठाकुरलाई लाग्यो, ‘यो जीवनको अन्तिम रात हो। अब ती तमिल गुन्डाले यहीँ मारिदिन्छन्।’

रातभरि अर्काे कोठामा उनीहरूले खानपिन गरे।

ठाकुरले टुटफुट आवाज पनि सुन्थे, ‘पैसा नदिए मारिदिने’ सल्लाह गरिरहेका थिए।

आधारातमा उनीहरू खाइपिइ गरेर सुतिसकेका थिए। ठाकुर कतैबाट निस्किने ठाउँ खोज्दै थिए।

सहर सारा झिलिमिली देखिन्थ्यो, ठाकुरको मनमा भने डरको बिजुली चम्किरहेको थियो।

अन्ततः ठाकुर आफू थुनिएको त्यो कोठाको झ्यालबाट हाम फाले। सडकमा बजारिए।

‘कोठामै भए त मारिन्थेँ होला। बरु हाम्फाले त बाँचिन्छ कि भन्ने सोचेँ,’ ठाकुर भन्छन्, ‘अनि झ्यालबाट हाम्फालेँ। सडकमा बजारिएको मात्रै सम्झिन्छु, त्यसपछि केही थाहा पाइनँ।’

हल्का होस आएर उनी ब्युँझिदा बिहानको ४ बजिसकेको थियो। उठ्न खोजे सकेनन्। फेरि सडकमा ढले। खुट्टाहरू लोलाइरहेका थिए, उभिनै सकेनन्।

‘त्यसपछि साथीहरूलाई फोन गरेर त्यहाँ बोलाएँ,’ अनि उनलाई अस्पताल पु-याइयो।

ती गुन्डाहरूले उनलाई खोजिरहेका थिए। ठाकुरले तत्काल दूतावासमा पनि खबर गरे।

…अनि खुट्टा काटियो

अस्पतालले बिदा दिएसँगै उनी घर फर्किन तम्सिए।

‘यहाँ बसिरहने हो भने त मलाई मार्छन् भन्ने लाग्यो अनि घरै फर्किन्छु भन्ने भयो,’ उनी भन्छन्, ‘त्यसपछि दूतावासलाई भनेर घर फर्किने तयारी गरेँ।’

साथीभाइको सहयोगमा उनले टिकट पनि लिए। हिमालय एयरलाइन्सको टिकट थियो।

काठमाडाै‌ं फर्किन उनी टिकट लिएर एयरपोर्ट पुगिसकेका थिए। तर, एयरलाइन्सले ‘फिट एन्ड फाइन’ को रिपोर्ट माग्यो। उनको देब्रे खुट्टा भाँचिइसकेको थियो। भर्खरै मलमपट्टी गरिएको, घाउ ताजै थियो।

एयरलाइन्सले ल्याउन नमानेपछि उनी फेरि अस्पतालै फर्किए। त्यहाँ डाक्टरले खुट्टा नै काट्नुपर्छ भने। देब्रे खुट्टाको घँडामुनि त कामै नलाग्ने भइसकेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *