‘काठमाडौँ भ्युटावर’ काे निर्माण चिप्लेकीराको गतिमा

काठमाडौँ । पूरानो बस पार्कमा निर्माणाधीन ‘काठमाडौँ भ्युटावर’ निर्माण चिप्लेकीराको गतिमा भइरहेको छ । निर्माण शुरू भएकोे पाँच वर्ष बितिसक्दा पनि अहिलेसम्म टावर निर्माणको १५ प्रतिशत मात्रै काम भएको छ ।

महानगरपालिका र निर्माण कम्पनीबीच भएको सम्झौतामा २०७८ असारभित्र उक्त टावरको निर्माण सम्पन्न गरी व्यावसायिक प्रयोजनमा आइसक्नुपर्ने उल्लेख गरिए पनि अहिलेसम्मको निर्माणको अवस्थाले सो समयावधिमा कार्य सम्पन्न हुनसक्ने अवस्था देखिएको छैन । अहिलेसम्म सो टावर निर्माणको बेसमेन्टको काम सम्पन्न भई थप निर्माणकार्य अगाडि बढेको छ ।

काठमाडौँ महानगरपालिकाका प्रवक्ता किशोरमान डङ्गोलले महानगर र निर्माण कम्पनीबीच भएको सम्झौताबमोजिम ‘काठमाडौँ भ्युटावर’ को काम हुन नसकेको बताए । उनले भने, “निर्माण कम्पनीले पहिलेभन्दा अहिले कामलाई केही गति दिए पनि निर्माणकार्य सन्तोषजनक रूपमा अगाडि बढ्न सकेको छैन । कार्यतालिकाअनुसार अहिलेसम्म जति काम हुनुपर्थ्याे त्यति हुन सकेको छैन ।”

गोरखापत्र दैनिकमा भउचप्रसाद यादवकाे वायलाइनमा छापिएकाे समाचार अनुसार टावर निर्माणको जिम्मा जलेश्वर, स्वच्छन्द र बिकोई (जेभी)ले पाएका छन् । २०७१ फागुन २२ गते सम्झौता भए पनि निर्माण कम्पनीले २०७३ साउन ३० गतेदेखि मात्र काम शुरू गरेको हो । झण्डै दुई वर्ष काम ढिलो शुरू गरे पनि निर्माण कम्पनीले बीचबीचमा काम छोड्दै आएको छ । महानगरले सो टावर निर्माणका लागि गत वर्ष चैतमा एक वर्षका लागि समयसमेत थप गरेकाे थियाे । तर थप गरिएकाे समयावधिमा पनि टावर निर्माणकाे काम सकिने सम्भावना देखिएकाे छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *