अब प्रधानमन्त्री बन्छु -गोकुल बाँस्कोटा
काठमाडौं, ७ असार । ‘म प्रधानमन्त्री बन्न पनि सक्छु, धेरै साथीहरुले प्रधानमन्त्री बन्न अगाडि सर्नुस्, जति अर्ब खर्च लाग्छ हामी गर्छाैं भनिरहनुभएको छ।’ यो अचम्मको भनाई गोकुलप्रसाद बाँस्कोटाको हो। आफ्नो घरमा मानिसहरुलाई बोलाएर भिड लगाउने र यस्तो खालको गफ दिने बानी नै परिसकेको छ गोकुललाई।
प्रधानमन्त्री केपी ओलीको भक्तपुरको बालकोट स्थित निजी निवासमा गोकुल बसिरहेका छन्। ७० करोड रुपैयाँ घुस मागेपछि उनको मन्त्री पद गुमेको थियो। मन्त्रीबाट खुस्किएपछि पनि उनी ओलीकै घरमा बसिरहेका छन्।
गोकुलले म प्रधानमन्त्री बन्न सक्छु भनेको कुरा अहिले काभ्रेमा निकै चर्चित छ। राजनीतिमा आफ्नो साख समाप्त भएपछि गोकुलले प्रधानमन्त्री बन्छु भन्दै हैसियत बढाउन हल्ला चलाएको पनि बताउन थालिएको छ। गोकुलले प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाल र उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग सम्बन्ध सुधारिसकेको पनि बताउन थालेका छन्। ‘मैले नै भनेर इश्वर पोखरेलका मान्छे सूर्य थापालाई प्रधानमन्त्रीको सल्लाहकार बनाइदिएँ’ पनि भन्ने गरेका छन् गोकुलले।
काभ्रे तथा अन्य जिल्लाका जतिसक्दो धेरै मानिसलाई निवासमा बोलाएर भिड लगाउने गोकुलको शौख बनेको बताइन्छ । गोकुल निकटकाहरुले बताए अनुसार लकडाउनका बेला पनि पास व्यवस्था गर्न लगाएर उनले आफ्नो निवासमा मानिसको भिड देखाउने गरेका छन्। खासगरी उच्च तहका कर्मचारीहरुलाई भेट्न बोलाउने, उनीहरुलाई बोलाएको बेला निवासमा भिड देखाउने र ती कर्मचारीहरुलाई दवाबमा पार्ने कार्य गोकुलले गरिरहेको नेकपाका नेताहरुले बताइरहेका छन्।
गोकुल जति धेरै बोल्छन् त्यति धेरै जनता इरिटेड हुन्छन्। उनले अन्टसन्ट अन्र्तवार्ता दिएको भिडियो सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती पाइन्छ। त्यस्ता भिडियोमा जनताको उनीप्रतिको आक्रोश प्रष्ट देखिन्छ। प्रधानमन्त्री निवास बालुवाटारको घेराभित्र रहेका कतिपय व्यक्तिहरु गोकुलले नबोलिदिए हुन्थ्यो भनिरहेका छन् तर गोकुल मानिरहेका छैनन्।
गोकुलको घरमा भएको बम विष्फोट झन् रहस्मय बन्दै गइरहेको छ। उनी मन्त्री पदबाट खुस्किएपछि नेत्रबिक्रम चन्द बिप्लवको पार्टीले गोकुलको घरमा बम विष्फोट गराएको भनिएको थियो तर कतिपयले यसमा शंका व्यक्त गरिरहेका छन्। प्रधानमन्त्री ओलीको निजी घरमा गोकुललाई राखिरहने उद्देश्यले अरु कसैले बम विष्फोट गराएको आशंका पनि गरिन थालेको छ।
यो समाचार गुन्द्रुक खबर बाट साभार