बग्दाबग्दैको पानी जम्‍न थालेपछि !

लमजुङ — चामेमा मेलिना गुरुङको होटल अगाडि धारा छ । बिहान उठेर हेर्दा धारामा बग्दाबग्दैको पानी जमेको देखिन थालेको एक साता भयो । ‘बिहान ११ नबजी धाराबाट पानी खस्दैन उनले भनिन्साँ झैमा धाराको पानी सानो बनाएर राखिएन भने दिनभरि पनि बरफ पग्लिँदैन ।

हिमपात सुरु नभए पनि पुस लागेयता मनाङमा चिसो निकै बढेको छ । ‘घरभित्रै आगो फुकेर बस्यो, दिन बितायो । यस्तै चल्दै छ उनले भनिन् ।
मनाङमा हिउँदमा तापक्रम शून्य डिग्रीभन्दा तल जान्छ । अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने मनाङको चामेमा पदयात्रीका लागि थुप्रै होटल छन् । चामे भएरै पदयात्री नाथुला पास र तिलिचो ताल पुग्छन् । विगतमा हिउँदमा पनि फाट्टफुट्ट विदेशी पदयात्री आउँथे । केहीले व्यवसाय हुने लोभमा सीमित कर्मचारी राखेर होटल खुलै राख्थे । हिजोआज पदयात्री पाहुना शून्य छन् । स्थानीय बासिन्दा पनि हिउँदका चार महिना जाडो छल्न बेंसीसहर, पोखरा, काठमाडौं र अरू जिल्ला पुग्थे । यसपटक कोरोनाको त्रासका कारण अधिकांशले जिल्ला छाडेका छैनन् । त्यसैले मनाङवासी आफ्नो गाउँठाउँको चिसो खपेरै बसेका छन् ।

‘पोहोर–परारजसरी योपल्ट हिउँ पर्न थालेको छैन,’ चामे गाउँपालिका अध्यक्ष लोकेन्द्र घले भन्छन्, ‘हिउँ नपर्दा झन् चिसो हुन्छ । घाम नलागेसम्म घर बाहिर मान्छे निस्केकै देखिन्न । दिउँसो पनि प्रायः सबै चाँडै घरभित्र छिर्छन् । खोल्साखोल्सीमा सबै जमेको उनले बताए । ‘बर्सेनि जाडो छल्न झर्नेहरूले योपल्ट आफ्नो गाउँठाउँमा हिउँद कस्तो हुन्छ भनेर अनुभव गरिरहेका छन्,’ उनले भने ।

मनाङ आउजाउको एकमात्र बाटो लमजुङको बेंसीसहर हो । यतिबेला लमजुङको सिमाना काटेर मनाङ टेक्दा जताततै खोल्सा, छहरा जमेको देखिने गाउँपालिकाका सूचना अधिकृत दीपेन्द्र गोदारले बताए । ‘ठूलो खोला जम्दैन, बाँकी सबै स–साना खोल्सा–छहरा जमेर सिसाजस्तो भएका छन्,’ उनले भने, ‘झर्दाझर्दैको झरनाको पानीसमेत जमेको देखियो । कति धेरै चिसो छ भन्ने भनेर साध्य छैन ।’ बर्सेनि मनाङका सरकारी कार्यालय र स्थानीय तहका कर्मचारी पनि चार महिना जाडो छल्न झर्ने गरेका थिए । यसपटक उनीहरूले पनि जिल्ला छाड्न पाएका छैनन् । कार्यालयहरूमा कर्मचारी दाउरा बालेर ताप्दै बसेका छन् ।

मनाङका निमित्त प्रमुख जिल्ला अधिकारी शारदा चालिसेले भनिन्, ‘अहिले साँझबिहानको तापक्रम माइनस ८/९ डिग्री सेल्सियस छ । दिउँसोसमेत माइनस ४/५ डिग्री सेल्सियस र राति माइनस १४/१५ डिग्री सेल्सियससम्म हुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *