सन्तोषले भने- भारतीय खाना बनाएर उपाधि जितेको भए म कुन मुखले नेपाल जाने ?

काठमाडौं। नेपाली सेफ सन्तोष साह ‘बिबिसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ को उपविजेता बनेका छन्। प्रतियोगिताको ग्रयाण्ड फाइनलमा पाल्पाली ढाकाटोपीमा सजिएका सन्तोषले अन्तरर्राष्ट्रिय स्तरको प्लेटफर्ममा नेपाली खानालाई परिचित गराएका छन्।

बिहीबार बेलुका बीबीसी वानमा प्रसारित ग्रान्ड फिनालेमा उनको मास्टर सेफ च्याम्पियन बन्ने सपना अधुरै रह्यो । उपाधि बेलायती सेफ आलेक्स वेवले जिते। तर, ३२ जना व्यावसायिक सेफबीच शुरु भएको उक्त प्रतियोगितामा टप थ्री पर्नुलाई पनि उनले ठूलो उपलब्धि मानेका छन् । विश्वसामु नेपाली खाना चिनाउन र लाखौं नेपालीको मन जित्न सफल भएकाले उपाधिभन्दा त्यो महत्वपूर्ण भएको उनले प्रतिक्रिया दिए।

‘एकदम कडा प्रतिस्पर्धा थियो । मेरो उपाधिमात्र जित्ने उद्देश्य भएको भए २० वर्ष बढी अनुभव रहेको इन्डियन खाना बनाउँथे होला तर त्यसो गर्न मनले नै दिएन,’ साहले भने, ‘म आफ्नो स्वाभिमान कहिल्यै बेच्दिनँ । भारतीय खाना बनाएर उपाधि जितेको भए म कुन मुखले नेपाल जाने?’

करिब ५ सातादेखि चलेको तीव्र प्रतिस्पर्धामा सन्तोषले नेपाली परिकारमात्र पस्किएर आफ्नो उपस्थिति दरिलो बनाए । उपाधि नजितेपनि उनले सबको मन जिते । उनले हिमाल, पहाड र तराईको खाना र नेपाली भेषभूषा एवं संस्कृति विश्वसामु चिनाए । नेपाली झण्डा फहराए । भादगाउँले र ढाका टोपी पहिरिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *