खासमा विवाह के हो ?

काठमाडौं । विवाह दुई मानिसबीचको समझदारी तथा सौहार्दपूर्ण तरिकाले जीवन बिताउन प्रण गर्ने सामाजिक नियम वा संस्था भन्दा अतियुक्ती नहोला । यसमा केवल दुई जना मात्र होइन दुई परिवारको सम्बन्ध जोडीएको हुन्छ । राम्रो जीवनसाथी र राम्रो परिवार छनोट गर्न सके उत्तम होला तर हडबडमा कुरा नबुझी आफूसँग मेल नखाने जीवनसाथी रोज्दा जीवन नर्क बन्न सक्छ ।

मलाई थाहा छ, विवाहपछि मेरो स्वतन्त्रता केही हदसम्म हनन हुन्छ । अहिले म आफ्नो विषयमा मात्र चिन्तन गर्छु भने विवाहपछि हाम्रो भनी चिन्तन गर्नुपर्छ । म आफू जस्तो छु त्यही स्तरको जीवनसाथी छनोट गर्छु, जसले मेरो चाहना तथा भावना बुझोस् भन्ने सोच हामीले राख्न सक्नुपर्छ । विवाह जीवनको महत्वपूर्ण निर्णय भएकाले आफू पूर्णरूपमा तयार भएपछि मात्र गर्नु उत्तम हुन्छ ।

अहिलेको २० औं शताब्धीमा पनि हाम्रो समाजमा बीस वर्ष नपुगेकी छोरीको विवाहको प्रसंग चल्नु सामान्य मानिन्छ । शिक्षित परिवारमै हुर्केका धेरै जसो छोरीको विवाह पच्चीस वर्ष नपुग्दै भैसकेको हुन्छ । छोराको विहे ढिला गरे केहि हुँदैन छोरीको विवाह बेलैमा गरिदिहाल्नु पर्छ भन्ने चिन्तन हाम्रो समाजमा अझै पनि देख्न सकिन्छ ।

हाम्रो घरमा पाहुना आउँदा विहेको प्रसंग चल्नु खस्सै नौलो कुरा हैन । पाहुनाको जिज्ञासा टार्न संगै पढेका साथिहरुको विहे भएको छैन वा पढाइ सकिएको छैन भन्नु बाहेक अरु विकल्पै हुदैन । पन्ध्र सोह्र वर्ष मै विहे गरेका बुवा हजुरबुवा पुस्तालाई नातिनातिना पच्चीस कट्नु भनेको विहेका लागि उमेर गैसक्यो ठान्नु स्वाभाविक नै हो ।

जब टोल छिमेकमा आफ्नै उमेरका साथीभाइको धमाधम विहे हुन थाल्छ त्यसको असर बिहे गर्ने उमेरका सबैलाई पर्छ । छोरा मान्छेलाई तीस वर्षसम्म टार्न सजिलै छ तर छोरी मान्छेको हकमा कुनै बाहाना चल्दैन, बाबुआमाको निर्णय नै अन्तिम हुन जान्छ । विवाह भनेको गर–गहनाको सजिसजावट, जन्तीको भिड, भोज भतेर मात्रै होइन् । यी त सब क्षणिक भौतिक सुख हुन् । यथार्थमा बिहे भनेको पुरुषले महिलालाई र महिलाले पुरुषलाई स्वीकार्नु हो ।

नेपालको कानुन अनुसार, विवाह दर्ता ऐन २०५८ दफा ५ बमोजिम विवाह गर्न चाहने सोही ऐनको दफा ४ ले तोकेको योग्यता पुगेको पुरुष र स्त्रीले तोकिएको ढाचामा दरखास्त दिई विवाह दर्ता गर्ने प्रावधान छ । नेपाल राजकिय प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको नेपाली बृहत शब्दकोशमा विवाह भनेको “स्त्री र पुरुषका बीचमा पति पत्नीको सम्बन्ध कायम गराउने धार्मिक, सामाजिक कृत्यलाई विवाह भनिन्छ भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *