‘जब राजा बिरेन्द्रलाई नारायण गोपालले तास खेल्ने प्रस्ताव गरे!’

नारायण गोपाल नेपाली सांगीतिक आकाशमा चम्किलो नाम हो । उनी वितेर गएको ३० बर्ष भएपनि उनका सुमधुर र कर्णप्रिय गीतहरु अझै नेपाली श्रोताहरुले मन पराएर सुनिरहेका छन् । उनले गाएका सयौं गीतहरु सदावहार छन् र अझै उत्तिकै लोकप्रिय छन् ।

बाँचिरहेका भए नारायण गोपाल गुरुवाचार्य ७२ बर्षका हुन्थे । उनले २०४७ साल मंसिर १९ गते अन्तिम सास फेरे । उनको शरीर गएपनि उनले छोडेका गीतहरु अमर छन् । माया गरेर उनलाई जनताले स्वर सम्राटको उपाधि दिएका थिए ।

तिनै नारायण गोपालबारे २०६७ मङ्सिर २० को नागरिक दैनिकमा नारायण गोपाल विशेषाङ्क भएको थियो । त्यहाँ डाक्टर विश्वम्भर प्याकुरेलले नारायण गोपालबारे स्मरण लेखेका छन् । उनी त्यहाँ अस्पतालमा बिरामी भएर भर्ना भएका नारायण गोपालले राजा बिरेन्द्रलाई फोन गरेर तास खेल्न बोलाउन चाहेको उल्लेख गरेका छन् ।

डा. प्याकुरेल अगाडि लेख्छन्, ‘हामी केही साथीले अस्पतालमा कुर्न पालो मिलाएका थियौं । भेट्ने आउनेको ताँती लाग्थ्यो । नारायणलाई देखेर तिनका आँखा रसाउँथे । ऊ भने आए जतिलाई हँसाउँथ्यो ।’

‘म (राजा) वीरेन्द्रलाई फोन गर्छु’, एकदिन उसले भन्यो। किन? हामी चकित पर्‍यौं। ‘म भन्छु, अब संवैधानिक राजतन्त्रमा तिम्रो काम छैन । म पनि अस्पतालमा ल डि हालेँ, काम गर्न सक्दिनँ । हामी दुई भाइ मिलेर तास खेलौं ।’

ऊ जीउ चल्मलाउँदै हाँस्थ्यो । हामी चुप्पै लाग्थ्यौं। खासमा गला अवरुद्ध हुन्थे । तस्वीर: सामाजिक सञ्जाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *