चम्कियो सुन बजार, सातामा २९ सयले मूल्य बढ्दा पनि माग धान्न मुश्किल

१९ मंसिर, काठमाडौं । सुन बजारमा गुमेको चमक बिहेको लगनका कारण फिर्ता भएको व्यवसायीहरुले बताएका छन् । मूल्यमा तीव्र उतार चढाव देखिए पनि दैनिक ४० किलोसम्म सुनको बिक्री भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

माग बढेसंगै बजारमा सुनको अभाव भएको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए । एक सातामा सुनको मूल्य दुई हजार ९ सय रुपैयाँले बढेको छ ।

मंगलबारदेखि निरन्तर बढ्दो क्रममा रहेको सुनको भाउ शुक्रबार पनि तोलामा तीन सय रुपैयाँले बढेको छ । आजको कारोबारका लागि छापावल सुनको भाउ तोलामा ९२ हजार ९ सय र तेजाबी सुनको भाउ ९२ हजार ४५० रुपैयाँ तोकिएको नेपाल सुन चाँँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार छापावल सुन ९२ हजार ९ सय र तेजाबी ९२ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

सुनसँगै चाँदीको भाउ पनि साताभर बढ्दो क्रममा रह्यो । बिहीबार १२ सय पाँच रुपैयाँमा कारोबार भएको प्रतितोता चाँदीको भाउ शुक्रबार पाँच रुपैयाँले बढेर १२ सय १० रुपैयाँ तोकिएको छ ।

९ महिनापछि फर्किएको चमक

कोरोना र लकडाउनका कारण सिथिल बनेको सुन बजारमा मंसिर लागेसँगै पुरानो चमक फर्केको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहेको लगनले गर्दा जिल्ला नगरसहित देशैभरबाट सुनको माग अत्यधिक भएको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए सुनको कारोबारमा चैत पछि गत वर्ष जस्तै चमक छाएको छ, यो महिनाभर दैनिक ३० देखि ४० किलोसम्म सुनको बिक्री पुग्ने अनुमान गरेका छौँ,’ बज्राचार्यले भने ।

मूल्यमा सामान्य उतार चढाब देखिए पनि आवश्यकताकै कारण उपभोक्ताले सुन खरिद गरिरहेको उनको भनाइ छ ।

साताभर सुनको बजार भाउ

मंसिर १४ गते आइतबार बजार खुल्दा सुनको भाउ प्रतितोला पाँच सयले घटेर ९० हजार ७ सय रुपैयाँमा आइपुगेको थियो । यस्तै सोमबार पनि प्रतितोला ७ सयले सस्तीएर ९० हजार प्रतितोलामा सुनको कारोबार भएको थियो ।

सातामा त्यसयताको पाँच दिन भने सुनको मूल्य पुनः बढ्दो क्रममा रह्यो । साता अन्त्यसम्म सुनको भाउ दुई हजार ९ सय रुपैयाँले बढीसकेको छ । मंगलबार बढेर ९० हजार पाँच सय पुगेको सुनको भाउ बुधबार पुनः बढेर ९१ हजारमा कारोबार भयो ।

यस्तै बिहीबार १६ सयले बढेर ९२ हजार ६ सयमा कारोबार भएको सुनको भाउ शुक्रबार ९२ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *