पर्वतको दुर्लुङमा पहिरोले ज्यान गुमाएकाहरुको सामूहिक अन्त्येष्टि

पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङ काउलेमा शनिबार रातिको पहिरोमा परी ज्यान गुमाएका ८ जनाको सामूहिक दाहसंस्कार गरिएको छ ।

उनीहरुमध्ये ६ जनाको मोदीवेणीमा र अन्य दुईको छिमेकी जिल्ला बागलुङको जैमिनीघाटमा दाहसंस्कार गरिएको हो ।

पर्वतको मोदीवेणीमा पाँच चिता बनाएर छ जनाको दाहसंस्कार गरिएको छ । मृतकमध्ये ५३ वर्षीय तुलबहादुर र उनकी श्रीमती ५२ वर्षीया मीनकुमारी थापालाई एउटै चितामा जलाइएको हो भने नाति सम्राट, नातिनी विविशालाई छुट्टाछुट्टै चितामा जलाइएको हो ।

त्यस्तै अर्को परिवारका ३२ वर्षीया कमला विक र उनकी छोरी आठ वर्षीया प्रमिशालाई पनि छुट्टाछुट्टै चिता बनाएर दाहसंसकार गरिएको थियो । एउटै गाउँका छ जनाको एकैपटक दाहसंस्कार गरिएको यो नौलो घटना हो । दाहसंस्कारका लागि घाटमा सयौंको सङ्ख्यामा पुगेका नागरिक भावविह्वल बनेका थिए ।

र यो पनि पढ्नुहोस् : पर्वतको दुलुङ्गमा गएको पहिरोले एकै घरका ६ सहित ९ जनाको ज्यान लियो

तुलबहादुर दम्पत्तीलाई छोरा अम्मरबहादुर थापाले दागबत्ती दिएका छन् । पहिरोमा आफ्नो छोरा सम्राट र विविशालाई गुमाएका उनीमाथि छोरा छोरीलाई पनि दागबत्ती दिनुपर्ने बाध्यता आइपर्यो । भक्कानिँदै एकैपटक जन्मदिने बाबुआमा र आफैँले जन्माएका छोराछोरीलाई दागबत्ती दिँदा उनको मन सम्हालिएको थिएन । कमला विक र उनकी छोरीलाई जेठाजु पर्ने चक्रबहादुर विकले दागबत्ती दिएका हुन् ।

त्यसैगरी पहिरोमा पुरिएका आमाछोरा ३४ वर्षीय दिपा थापा र १७ वर्षीय विवेक थापाको बागलुङको जैमिनी नगरपालिकास्थित कालीगण्डकी किनारमा पर्ने जैमिनीघाटमा अत्येष्टि गरिएको छ । दिपा लकडाउनपछि छोरा विवेकसहित माइतीमा बस्दै आएकी थिइन् ।

हराएका जेनिशको खोजीकार्य वर्षाले प्रभावित

पहिरोले पुरिएका नौमध्ये १३ वर्षीय जेनिश विक अझै पनि भेटिएका छैनन् । शनिबार रातिदेखि नै खोजी गरिए पनि उनी अझै फेला नपरेका हुन् । आइतबार दिनभर खोजी भएको थियो भने सोमबार बिहानैदेखि खोजीकार्य थालिएको भए पनि निरन्तरको वर्षाले प्रभावित बनेको छ ।

दिनभर गाउँका सबै बासिन्दा मृतकको शव दाहसंस्कार गर्नका लागि मोदीवेणी घाटतर्फ लागे पनि सुरक्षाकर्मीले साँझ अबेरसम्म खोजी गरेको थियो । आज बिहानबाट पुनः खोजी गर्न शुरु गरिने जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

दिनभरि खोजीकार्यमा सुरक्षा निकाय जुटिरहेको भए पनि वर्षाले समस्या बनाएको पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी बताए ।

र यो पनि पढ्नुहोस् : पर्वत पहिरो अपडेट: ३ वटा शव भेटियो ९ जना मानिसहरु पुरिएको आशंका

शनिबार राति ८ बजे आएको पहिरोले स्थानीय तुलबहादुर थापा र कमला विकको परिवारलाई बगाएको थियो । थापा परिवारका ६ जना र विक परिवारका ३ जनालाई पहिरोले पुरेको थियो । थापा परिवारका ६ जनाकै शव फेला परेको छ भने विक परिवारका बालक अहिलेसम्म भेटिएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *