गरिब, निमुखा, श्रमिक, ज्यालादारीहरू जो बोल्न सक्दैनन्, उनीहरूको आवाज र आह्वान बोकेर उठेको युवा-लहर हो यो । उनीहरूलाई सत्ता चाहिएको होइन, सरकार ढाल्नु छैन । एउटै प्रश्न हो, ‘अति भयो अति, कहिलेसम्म सहने यस्तो बेथिति ?’ अतिघर्षणबाट ढुंगामा पनि आगो पैदा हुन्छ। संवेदना र संवेग भएका युवापुस्ताको हृदय कसरी चिसो रहन सक्छ ?

ज्याला मजदुरी गर्ने मलर सदाहरू भोकले मरिरहेका छन् । रोजीरोटी गुमाएपछि सिद्धार्थ आउजीहरू आत्मदाह गरिरहेका छन् । ६ दिनसम्म पैदल हिँड्दै भारतबाट घर फर्किएका वीरेन्द्र यादवहरू ज्वरो र भोकले बाटोमै ज्यान गुमाइरहेका छन् । क्वारेन्टिनमा उपचार नपाउँदा ५० वर्षीय यमप्रसाद खनालदेखि ६ वर्षीय बालकसम्मको ज्यान गइरहेकाे छ।

‘मेरो सरकार’ छाती ठोकेर भन्दैछ, ‘कोरोना नियन्त्रण, क्वारेन्टिन निर्माण र राहतमा १० अर्ब सकियो ।’

यता सर्वसाधारण रोग, भोक र शोकको टिठलाग्दो शृंखलामा ताँती लागेका छन् । उता सरकार उपरखुट्टी लगाएर मोलमोलाइमा निर्लिप्त छ। यो विरक्तलाग्दो परिदृश्यभित्र क्रूर बेथिति देख्दा कसको रगत उम्लिँदैन ?

मानवीय संवेदना र आवेग भएका सजीव र सचेत हरेक नौजवानको रगत उम्लिन्छ ।

गरिब-निमुखाले घण्टौं लाइनमा उभिएर थापेको राहतमा कुहिएको चामल छ। क्वारेन्टाइनको नाममा कति ओडारमा रात कटाउँदैछन्, कति भैँसी गोठमा। कतार-मलेसियामा लाखौं युवाहरू भोक र भयसँग जुधिरहेका छन्। मजदुर, श्रमिकहरू सयौं किलोमिटर पैदल हिँडेर घर फर्कंदैछन् ।

सरकारचाहिँ बिन्दास करोडौं खर्चेर कार्पेट बिछ्याउन, जिम खाना खोल्न र शौचालय सजाउनमा मदमस्त छ । मेडिकल उपकरण खरिदमा अर्बौं घोटला गर्ने चेस्टा गर्दैछ । विदेशमा रहेकालाई उद्धार गर्ने नाममा लाखौं झ्वाम पार्ने दाउ रच्दैछ। यो चरम विसङ्गती देख्दा कसको पारो तात्दैन, कसलाई झोंक चल्दैन ?

मुटु भएका हरेक नवजवानको धमनीमा रक्तप्रवाह बढ्छ ।

आवाजविहीनहरूको आवाज

पब्जी खेल्दा–खेल्दा दिक्क लागेर, कोठामा बस्दाबस्दा वाक्क लागेर सडकमा रमिता हेर्न ओर्लिएको जत्था होइन । गरिब, निमुखा, श्रमिक, ज्यालादारीहरू जो बोल्न सक्दैनन्, उनीहरूको आवाज र आह्वान बोकेर उठेको युवा-लहर हो यो ।

उनीहरूलाई सत्ता चाहिएको होइन, सरकार ढाल्नु छैन । एउटै प्रश्न हो, ‘अति भयो अति, कहिलेसम्म सहने यस्तो बेथिति ?’

अतिघर्षणबाट ढुंगामा पनि आगो पैदा हुन्छ। संवेदना र संवेग भएका युवापुस्ताको हृदय कसरी चिसो रहन सक्छ ? ‘अति भएपछि’ त्यसले आगो ओकल्छन् ।

उनीहरूले भत्ता खोजेका होइनन्, कमिसन मागेका होइनन्, जागिर चाहियो भनेका छैनन् । चाहेको त्यति मात्र हो, ‘सर्वसाधारणलाई नमार, राज्यलाई नलुट ।’

आफ्नै देश फर्कन समेत नपाएपछि महाकाली नदीमा हाम फालेका इन्द्रराज खत्रीहरू, खानेबस्ने मेलो हराएपछि काठमाडौंबाट सल्यानसम्म पैदल हिँड्न बाध्य गर्भवती कमला घर्तीहरूको कष्ट सिंहदरबारले देख्दैन, सुन्दैन । न उनीहरूको सामाजिक सञ्जाल छ, न मिडिया । तमाम पीडा-व्यथा आफैँभित्र समेटेर आँशु पिउन विवश यही निमुखाहरूको आवाज लिएर सडकमा उर्लिएका हुन्, युवापुस्ता ।

नेता एवं पार्टीको भोज र भत्तामा र्‍याल काडेर टायर बाल्न तम्सिएका उग्र भिड होइनन् । राजनीतिक आग्रह/पूर्वाग्रह राखेर, पार्टीको झन्डा ओडेर, निहित स्वार्थसिद्धिका लागि सरकारलाई दबाब दिने कुचेष्टाले चर्किएको नारा होइनन्, यी ।

राष्ट्रको झन्डा फहराउँदै तीन करोड नेपालीको स्पन्दन बोकेर सडकमा घन्किएको युवा-आवाज हो । उनीहरू भन्दैछन्–

–अति भयो अति

–सरकार १० अर्ब खै ?

–पीसीआर किनौं सरकार कार्पेट होइन

–क्वारेन्टाइन किन गोठमा, सडकमा उत्रिनुपर्ने सोध्न ?

–बाँचुन्जेल हाहाकार, लाठी चार्ज, पानी र आश्रुग्यास, मरेपछि पीसीआर ?

–भोकले मर्दा नि राजनीति लासमा थियो, बिचरा ऊ मुठ्ठीभर चामलको आशमा थियो

–विदेशमा अलपत्र नेपालीको उद्धार गर सरकार

–कर केका लागि ?

रोल्पाका बड्डादेखि ताप्लेजुङका लुङ्गासम्म, हिमालका च्याङ्बादेखि तराईका भैयासम्म सबैको मनभित्र गुजुल्टा परेका प्रश्न यही होइनन् ? सबैको अव्यक्त आह्वान र आग्रह यिनै होइनन् ?

फरक के पर्छ, चाहे यी आवाज गोठमा बस्ने रामबहादुरले बुलन्द गरेका हुन् वा सहरमा बस्ने रामेश्वरले । हात्तीछाप चप्पल लगाउनेले गरेका हुन् वा एडिडास जुत्ता लगाउनेले । शासकको बेथितिमाथि खबरदारी गर्नु र निमुखाको कष्ट सम्बोधन गर्नु हरेक सचेत र सजीव नागरिकको दायित्व होइन ?

कुर्तकलाई कुल्चिँदै

एकथरी भन्दैछन्, ‘यो प्रायोजित भिड हो । यसको पछाडि अदृश्य शक्तिको हात छ । यी सुकिला-मुकिला सहरीया तन्नेरीको भिड हो । आइफोन बोक्छन्, मुखमा एन–९५ मास्क लगाउँछन् ।’

त्यसमाथि अरूले थप्दैछन्, ‘उनीहरूको प्लेकार्डमा लेखिएका भाषा शुद्ध भएन । नारा श्लील भएन । आन्दोलनको टाइमिङ भएन ।’

त्यसपछि उनीहरू यी प्रश्नमा आएर स्खलित भएका छन्, ‘यसरी भिड गर्दा कोरोना फैलियो भने को जिम्मेवार ? यो नेतृत्वविहीन आन्दोलनकारीलाई सरकारले वार्ता गर्न बोलाएमा को जाने ?’

जब-जब अत्याचारले अति गर्न थाल्छ, मान्छेले विद्रोहको आवाज ओकल्छ । यो हृदयबाट प्रकट भएको आवाज हो, जसलाई भाषाशास्त्रीहरूले सच्याएका हुँदैनन् । नैतिकताको कसीमा परीक्षण गरिएका हुँदैनन् । हृदयको कम्पन र आवाजलाई शुद्धाशुद्धी गरिरहन जरुरी पनि छैन । किनभने यो भाषा होइन, भाव हो ।

यसरी भिडभाड गर्नु, सडकमा आउनु, आन्दोलन चर्काउनु पक्कै जोखिमपूर्ण हो । खासगरी अहिलेको स्वास्थ्य–संकटको घडीमा । यसले कोरोनाको भयलाई अरू बढाएको छ । अर्थात् यो सही ‘टाइमिङ’ होइन ।

तर सर्वसाधारणको स्वास्थ्यप्रति यति सदासयता राख्नेहरूले बुझ पचाएका हुन् वा थाहा नपाएका, ‘क्वारेन्टाइनको नाममा एउटै कोठाभित्र दर्जन व्यक्तिलाई कोचिएको छ । पोषिलो खानेकुराको नाममा काँचो भात दिइएको छ । कोरोना संक्रमणले भन्दा उपचारको अभावले मर्दैछ ।’

के गरिब-निमुखा र बोल्न नसक्नेहरूलाई यसरी नै दबाइराख्नुपर्ने हो ?

यसरी दबाइएका आवाजहरूको विष्फोटक रुप हो, अहिलेको युवा लहर । उनीहरूलाई थाहा छ, यसले कोरोनाको भय अरू बढाउँछ । तर चुपचाप बस्दा त्योभन्दा बिकराल स्थिति आउनेछ ।

प्रणाली सच्चिए यो लहर स्वतः साम्य हुन्छ

सत्तासीनहरू भ्रष्टचार र भोग–विलासमा मदमस्त भइरहने, गरिब-दुःखीहरू अभाव र पीडामा छटपटाइरहने । अनि हामी ‘देशभक्तिको भजन’ गाउँदै ताली बजाइरहने ? सरकारले मेडिकल उपकरण खरिदमा अनियमितता गरोस्, विदेशमा अलपत्र श्रमिकलाई उद्वार गर्ने हवाई भाडा तीन गुणा महँगो बनाइदेओस्, सर्वसाधारणलाई लकडाउनमा राखेर सांसद अपहरण गरोस्, राष्ट्रपति कार्यालयको शौचालय सजाउन लाखौं खर्च गरोस्, कोरोना संक्रमितबाट जनही हजार रुपैयाँ उठाइयोस् । यी तमाम कामकुरालाई हामी सदर गर्दै जाऔं । भोलि तपाईं–हाम्रा छोराछोरीमाथि शासन गर्ने राज्य–प्रणाली कस्तो रहला ?

राज्य गौरव र गरिमाको धरोहर हो, यसलाई कुनै व्यावसायिक कम्पनी जस्तो बनाइनुहुन्न । अहिले सडकमा उर्लिएको युवा–लहरले खोजेको यत्ति हो ।

हिजो नाङ्गो आङ र भोको पेटमाथि राजनीति गरेर, सत्ताको बागडोर हात पारेकाहरू आज त्यही गरिब–निमुखालाई निचोरेर शक्तिको उन्मादमा मदहोस नहून् । यो तामासिक तमासा कहिलेम्म टुलुटुलु हेरिरहन नपरोस् । होस र विवेक भएका युवाहरू यस उच्छृङ्खल नाटकको पटाक्षेप गर्न चाहन्छ । तर उनीहरुलाई सत्ता पल्टाउनुछैन, मन्त्री बदल्नुछैन । बदल्नु छ त केवल भ्रष्ट प्रणाली ।

सरकारले वार्ता टोली बनाएर बार्गेनिङ गर्नुपर्दैन, आफूलाई सच्याए यो लहर आफैँ साम्य हुन्छ । तर यसलाई दबाउने र गलाउने चेष्टा गरियो भने यो लहर ज्वाराभाटामा रुपान्तरण हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *