जसले चुपचाप लकडाउनमा खान नपाएका हजारौं मानिसको भोक मेटाइन्, ‘भगवानले सेवाकै लागि मलाई पठाएका हुन्, त्यही गरिहरन्छु’

काठमाडौं, ३० जेठ । लकडाउनका कारण समस्यामा परेकाहरुलाई सहयोग गर्ने नाममा कतिपयले आफ्नै प्रचार गरे । दुई पैसाको राहत दिएर तस्बिर खिचेर सामाजिक सञ्जाल भरी राहत लिनेहरुको हुर्मत लिए । तर काठमाडौंमै एक यस्ती महिला थिइन् जसले चुपचाप हजारौं भोको पेट भरिन् तर कतै उनको नाम आएन । न त उनले तस्बिर खिचेर नै उनीहरुको हुर्मत लिइन् । नितान्त मानविय भावना र सेवाका लागि काम गरेकी ति महिला हुन् ज्ञानेश्वर काठमाडौकी हिरा पाण्डे ।

उनलाई न प्रचारको भोक थियो न कसैले आफ्नो गुनगान गाइदिउन् भन्ने चाहना नै । लकडाउनका कारण काम विहिन भएर भोको पेट भएकाहरुको सहयोगी बनिन् । उनको दैलोमा गएका कोही पनि रित्तो हात फर्कनु परेन । दिनभरी उनी राहतका लागि वितरण गर्ने खाद्यान्न पोको पार्दैमा वित्थ्यो ।

पाण्डे धर्म प्रति आस्था र विश्वास राख्ने महिला हुन् । त्यसैले पनि उनलाई लकडाउनका कारण समस्यामा परेकाहरुलाई सहयोग गर्ने भावना पलायो । सरकारले चैत ११ गते देखि लकडाउन घोषणा गर्यो । उनी चैतको २२ गतेवाट निरन्तर राहत बाड्न खटिरहिन् । उनले सुरुमा बिहान बेलुकै समस्यामा परेकालाई चामल, दाल, चिउरा, नुन, आलु, भुजा र आवश्यक अन्य सामग्री उपलव्ध गराउँदै आएकी थिइन् ।

तर लकडाउन थपिदै जाँदा अभाव झेल्नेहरु बढ्दै जान थाले । अनि उनको सहयोगको भावना पनि भरिएन । त्यसैले उनले सहयोगको दायरा बढाइन् । तर अहिले भने प्रायजसो बिहान राहत बाँड्ने गरेको पाण्डे बताउँछिन् । दैनिक सेवा गर्न पाइन भने मलाई पछुतो लाग्छ, कसैलाई दिएर खान पाएँ भने आत्मा नै खुशी हुन्छ उनले भनिन् ।

एक मुठि राहत दिएर दश गुना विज्ञापन गर्नेहरुका लागि पाण्डे एक गतिलो उदाहरण बनेकी छन् । भनिन्छ धर्ममा एउटा हातले दिएको दान अर्को हातलाई पनि थाहा हुनु हुँदैन । उनले यहि मान्यता अवलम्बन गरेकी छन् । जर्मन राजदुतावास नजिकै मन्दिर छेउमा रहेको उनको घरमा गए कोही भोको फर्कनु पर्दैन । कसैले पनि कल्पना सम्म नगरेको विपत्ती आएकोमा उनलाई दुख लागेको छ । तर विपतमा परेकाहरुलाई सहयोग गर्ने अवसर पाउँदा भने मन आनन्द हुने गरेको उनको भनाई छ ।

दिभरी पोको पारेको राहत सामग्री उनले आफ्नो घरको गेटमै राखेकी हुन्छिन् । आवश्यक पर्नेहरुलाई सुरक्षा सचेतना अपनाउँदै घरमा आएर लैजान आग्रह गर्छिन । विहान मात्र राहत दिने गरेको भएपनि कसैलाई अत्यावश्यक परेको छ भने उनी जतिबेला पनि उपलब्ध हुन्छिन् ।

आजभोलि उनको दैनिकी चामल, तेल, नुन र अरु पोको पार्दैमा बितेको छ । धर्ममा आस्था राख्ने उनी भन्छिन्, ‘यि हाम्रा दुई हात भगवानले सेवा गर्नकै लागि दिएका हुन् त्यसैले सेवा गर्न पाउदा मन आनन्द हुन्छ ।’ शारिरीक रुपमा अशक्त र वृद्धवृद्धाहरुलाई उनीहरुकै ठाउँमा पनि लगिदिने गरेको उनी बताउँछिन् ।

‘भगवानले नै मलाई राहत बाँड्नु भनेर पठाएको हो उनले भनिन्, ‘त्यसैले समस्या परेकालाई सेवा गरिरहन्छु ।’ उनले यति लामो समय सम्म राहत उपलब्ध गराउँदा सम्म आफुले कसैसंग सहयोग लिएकी छैनन् । भन्छिन्, समस्यामा परेकाहरुलाई दिएर मेरो घरको ढुकुटी सकियो भने पनि कैही छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *