केहि घण्टा अगाडी लगाएको नियम परिबर्तन गर्दै सरकारले मोटरसाइकल र स्कुटरका लागि लगायो छुट्टै नियम

नेपाल सरकारले घोषणा गरेको बन्दाबन्दीको नयाँ व्यवस्था अनुसार भोलि (शुक्रबार) देखि जोर–बिजोर प्रणाली लागू हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। शुक्रबारदेखि काठमाडौं उपत्यकाभित्र र अन्य जिल्लाभित्र मात्र निजी सवारी साधन जोर–बिजोर प्रणालीमा चलाउन पाइने भएको छ।

उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरलाई एक जिल्ला मानी यो व्यवस्था लागू गरिने छ । एक जिल्लाबाट अर्को जिल्लामा भने जान पाइने छैन। महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालका अनुसार भोलिदेखि सञ्चालन हुने जोर–बिजोर प्रणालीमा निजी सवारी साधन मात्र चल्न पाइने कुरा जानकारी दिए।

जसअनुसार चार पांग्रे सवारी साधनमा चालकसहित ३ जना मानिस मात्र र दुई पांग्रे सवारी साधन (मोटरसाइकल, स्कुटर, मोपेड) मा भने चालक १ जना मात्र सञ्चालन गर्न पाइने बताए।

यसै क्रममा सरकारले बिहीबारबाट नै लागू हुने गरी लकडाउनको मोडालिटीमा केही परिवर्तन गरेको छ । परिवर्तित मोडालिटी अनुसार पसल तथा डिपार्टमेण्टल स्टोरहरु, सेवा प्रदायक कार्यालयहरु आदि खोल्न दिने तथा पैदलयात्रुलाई आवतजावत गर्न दिने कुरा उल्लेख गरिएको छ ।

मोटरसाइकललाई जोर विजोर प्रणाली लागू नहुने, चालक मात्रै बस्न पाउने

बिहीबारदेखि नै लागू हुने गरी मोटरसाइकल पनि सञ्चालन गर्न दिने निर्णय भएको छ । यद्यपि, मोटरसाइकलमा चालक अर्थात् एकजना मात्रै बस्न पाइनेछ । तर मोटरसाइकललाई जोर बिजोर प्रणाली भने लागू नहुने सञ्चारमन्त्रीसमेत रहेका अर्थमन्त्री युवराज खतिवडाका प्रेस संयोजक यमन पौडेलले बताए । मोटरसाइकलहरु उपत्यकामा भए उपत्यकाभित्र र उपत्यका बाहिर भए सम्बन्धित जिल्लाभित्र मात्रै सञ्चालन गर्न पाइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *